एप्पलले आफ्नो सहकर्मी रिसाइक्लिङ कम्पनी गिप क्यानडालाई मुद्दा हालेको छ। गिप क्यानडाले एप्पलको एक लाखभन्दा बढी आइफोन, आइप्याड र घडी चोरी गरेर बेचेको आरोपमा एप्पलले यो कदम चालेको हो।
भारतीय अखबार ग्याजेट्स नाउका अनुसार त्रुटि रहेका उपकरणहरू नष्ट गरी त्यसलाई पुनः निर्माण गर्न एप्पलले क्यानेडियन कम्पनी गिपसँग सहकार्य गर्दै आएको थियो। तर, उक्त कम्पनीले नष्ट गर्न पठाइएका उपकरण चोरी गरेर बाहिर बेचेको एप्पलको आरोप छ।
गिपले भने ती आरोप अस्वीकार गरेको छ। र कम्पनीका आफ्नै तीन कर्मचारीले व्यक्तिगत रुपमा चोरी गरेर बेचेको बताएको छ।
जवाफमा एप्पलले ती तीन कर्मचारी गिप कम्पनीको वरिष्ठ व्यवस्थापन पदहरुमा रहेको हुँदा कम्पनी नै चोरीको जिम्मेवार हुन पर्ने आरोप लगाएको छ।
भारतीय अखबार ग्याजेट्स नाउका अनुसार सन् २०१५ जनवरीदेखि सन् २०१७ डिसेम्बरसम्म एप्पलले ५ लाख ३१ हजार ९ सय ६६ वटा आइफोन, २५ हजार ६ सय ७३ आइप्याड र १९ जहजार २ सय ७७ एप्पल घडि नष्ट गरेर पुनः बनाउन गिपलाई पठाएको थियो।
तर गिपको लेखा परीक्षण क्रममा एप्पलले सुरक्षा क्यामरामा हेर्दा आफ्ना केही उपकरणको छानबिन नभएको पत्ता लगाएको थियो। पछि सबै उपकरणको सिरियल नम्बर जाँच गर्दा मात्र एप्पलले पठाएको उपकरणहरु मध्य १८ प्रतिशत अर्थात् एक लाखभन्दा बढी उपकरण सेलुलर नेटवर्कमार्फत् इन्टरनेटमा सक्रिय रहेको पुष्टि गर्यो।
एप्पलकाअनुसार ती उपकरणमा गुणस्तर र सुरक्षाको मापदण्ड पूरा नभएको कारण पुनः ब्रिकीका लागि ठीक थिएन।
‘एप्पलका करिब एक लाख भन्दा बढी उपकरण नष्ट नभइ गिपको परिसरबाट बाहिर गएको छ। र गिपले स्वमं यो आरोप स्वीकारेको छ,’ एप्पलले मुद्दाको दौरानमा भनेको छ, ‘रिसाइकलका लागि पठाइएको उपकरण उपभोक्तालाई बेच्न हुँदैन। कम्पनीको पाटपूर्जा बाहेक नक्कली सामानबाट पुनः निर्माण गरियो भने ब्याट्री त्रुटिले गम्भीर सुरक्षा समस्या पनि निम्त्याउन सक्छ।’
एप्पलले आफ्ना उपकरण चोरीबारे केही वर्षअगाडि थाहा पाए पनि २०२० जनवरीमा मात्रै उजुरी दिएको हो। अहिले भने एप्पलले गिपसँग काम गरेको छैन।