सन फ्रान्सिस्कोका एक डिजाइनरले आइफोनमा स्टाइलिस आइकन बनाएर हप्तामा एक करोड रूपैयाँभन्दा बढी कमाएका छन्।
प्रविधिसम्बन्धी समाचार लेख्ने ग्याजेट नाउका अनुसार ट्राफ नामक डिजाइनरले आइफोनमा हुने साना आइकनलाई आफ्नै शैलीमा डिजाइन गरी हप्तामै एक लाख १६ हजार अमेरिकी डलर कमाएका हुन्।
उनले यस्ता आइकन बनाएर अन्य आइफोन प्रयोगकर्तालाई बेच्दै यो पैसा कमाएका हुन्।
एप्पलले केही समय अघि आइफोनमा आइओएस-१४ को अपडेट उपलब्ध गराएको थियो। आइओएस-१४ मा आएका नयाँ फिचर मध्य आइफोनका आइकन आफूले चाहेजस्तो डिजाइनको बनाउन सकिने सुविधा छ। यो सुविधा आइफोनको सिरी मार्फत लिन सकिन्छ।
ट्राफले यही फिचर प्रयोग गरेर नयाँ आइकन बनाएका हुन्। उनले एउटा प्याकमा १२० आइकन समावेश गरी त्यसलाई २८ डलरमा बेच्ने गरेका छन्।
‘प्रयोगकर्ताले आइफोनको आइओएस आफ्नै शैलीमा परिवर्तन गर्न पाउनु यो पहिले पटक हो र सबैले यो फिचर रूचाएका छन्,’ ट्राफले आफ्नो ब्लग पोस्टमा भनेका छन्, ‘प्रयोगकर्ता बीच कस्टमाइज आइकनको उत्सुकता देखेर मलाई पनि आफ्नै शैलीमा आइकन डिजाइन गर्न मन लाग्यो। डिजाइन गरेपछिका आइकनहरु म आफैँलाई राम्रो लाग्यो र त्यसलाई स्क्रिनसट गरेर ट्विटरमा पोस्ट गरेँ। त्यहीँ बेला अरुले ती आइकन बारे सोधपुछ गर्न थालेका हुन्।’
आइफोन प्रयोगकर्ताहरुले ट्राफका आइकनमा देखाएका कौतुहलताले उनलाई आइकन बेच्न प्रेरित गर्यो। जब चर्चित टेक युट्युब मार्क्स ब्राउनीले नै उनलाई आइकनका बारे सोधे, ट्राफका आइकनले झनै चर्चा पायो।
आइकनका स्क्रिनसट पोस्ट गरेको दुई दिनमा नै उनले ६ हजार अमेरिकी डलर कमाएका थिए र हप्तादिनमै उनको कमाइ एक लाख १६ हजार डलर पुगेको ग्याजेट नाउले लेखेको छ।
उनले भनेका छन्, ‘पोस्ट गरेपछिको हरेक २८ सेकेन्डमा २८ डलर कमाइ भइरहेको महसुस भएको थियो। मेरो फोन यति व्यस्त हुन थाल्यो, मलाई नोटिफिकेसन नै बन्द गर्नु पर्ने भयो।’
यो सँगै ट्राफले आफ्नो सफलता रातारात नभएको स्पष्ट पारेका छन्। उनको अनुसार उनलाई यसरी भाग्यमानी हुन सात वर्ष पर्खनु पर्यो।
उनले सन् २०१३ मा आफ्नो पहिलो कस्टमाइज आइकन बेचेका थिए र त्यो बेला उनले जम्मा १७ डलर कमाएका थिए।
उनले भनेका छन्, ‘आफ्नो मिहेनत बजारमा भन्दा इन्टरनेटमा बेच्न धेरै सहज हुँदो रहेछ। पर्याप्त प्रयासले एक पटक केही सिर्जना गर्ने अनि त्यसलाई कम प्रयासले बारम्बार बेच्न सकियो भने राम्रो कमाइ हुन्छ।’