फेसबुकको एक्सप्रेस वाइफाइ परियोजना नेपालमा प्रवेश गरेको छ।
सस्तो र तीव्र गतिको इन्टरनेट पहुँच विस्तारका लागि भन्दै फेसबुकले सन् २०१५ देखि सुरु गरेको यो परियोजना नेपालमा इन्टरनेट सेवाप्रदायकसँगको सहकार्यमा प्रवेश गरेको हो।
फेसबुकले दुई कम्पनीसँग साझेदारी गरेको जानकारी गराएको छ।
काठमाडौंका लागि वर्ल्डलिंक र ललितपुर,भक्तपुर र भरतपुरका लागि पिकोसफ्ट नेपालसँग साझेदारी गरेको हो।
एक्प्रेस वाइफाइको वेबसाइटमा उल्लेख गरिएअनुसार यी ठाउँमा वाइफाइ तथा हटस्पटको माध्यमबाट इन्टरनेटको पहुँच विस्तार गरिने छ।
इन्टरनेटको पहुँच विस्तार गरी विकासोन्मुख तथा न्यून आय भएका मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने भन्दै फेसबुकले यो सेवा अफ्रिकाका सात, एसियाका भारत र नेपाल, दक्षिणपूर्वी एसियाका २ र दक्षिण अमेरिकाका २ मुलुकमा सुरु गरेको छ।
यो परियोजनामा फेसबुकले मोबाइल अपरेटर, इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ। प्रविधि र पैसाको माध्यमबाट उनीहरुको वाइफाइ सेवा सुधार हुने फेसबुकको विश्वास रहेको छ।