इन्स्टाग्रामले स्वचालित रुपमा आपत्तिजनक कमेन्टहरु लुकाउने फिचर ल्याउने भएको छ। अनलाइन दुर्व्यवहार घटाउन इन्स्टाग्रामले यो फिचर ल्याउन लागेको हो।
मंगलबार एपको दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले यो फिचर परीक्षण गर्ने घोषणा गरेको थियो।
कार्यक्रममा इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले स्वयमं अनलाइन दुर्व्यवहारविरुद्ध लड्ने प्रतिबद्धता गरे।
कम्पनीका अनुसार विगतमा प्रयोगकर्ताद्वारा रिर्पोट गरिएको कमेन्ट अन्य प्रयोगकर्ताले देख्दैन थिए। सोही तरिका जसरी नै अब नराम्रा कमेन्टहरु लुकाइने छ। ती कमेन्ट हेर्न चाहेमा प्रयोगकर्ताले ‘भिउ हिडन कमेन्ट’मा क्लिक गरेर हेर्न सक्नेछन्।
नराम्रा कमेन्टहरु कम्पनीको ए.आइ प्रणालीको प्रयोगबाट पहिचान गरिरहेको इन्स्टाग्रामले बताएको छ।
इन्स्टाग्रामले अनलाइन दुर्व्यवहारलाई कम गर्न यसअघि पनि केही प्रयास गरेको थियो।
सिएनएन बिजिनेस अनुसार गत वर्ष एपले 'रेसट्रिक्ट' नामक फिचर ल्याएको थियो। यदि कसैले नराम्रो कमेन्ट गरेको छ भने यस फिचरबाट सोही व्यक्तिले मात्रै देख्न सक्थे।
साथै पुरानो फिचरमा कोहीले नराम्रो कमेन्ट पोस्ट गर्नुअघि नै एपले कमेन्ट अपमानजनक रहेको सुझाउने सुविधा थियो। यस्तो फिचरबाट मानिसलाई आफूले गर्न लागेको नराम्रो कामलाई दर्शाउने कोशिस गरिएको थियो।
एपले चेतावनी दिने फिचर ल्याएपछि त्यस्ता कमेन्ट लेख्ने प्रवृत्ति कम हुँदै गएको इन्स्टाग्रामले बताएको छ।
कसैलाई चोट पुग्ने गरी धेरै कमेन्ट गरेमा एपले थप चेतावनी दिने कम्पनीकाे भनाइ छ। चेतावनी दिएपछि एपमा 'नोटिफिकेसन' आउँछ र यसले नराम्रो कमेन्ट हटाउन सुझाव दिन्छ।
यदि कसैले कमेन्ट नहटाएमा ती व्यक्तिको एकाउन्ट डिलिट समेत हुनसक्ने कम्पनीले दाबी गरेको छ।
हाल प्रयोगकर्तासँग फेसबुकले नराम्रो मान्ने कमेन्टहरु मात्र लुकाउन सक्ने विकल्प छ।