फेसबुकले नेपालमा एक्सप्रेस वाइफाइ सेवा सुरु गरेको छ। वल्डलिंक र फेसबुकको सहकार्यमा यो सेवा सुरु गरेकाे हाे।
नेपालका सात हजार ५ सय स्थानमा एक्सप्रेस वाइफाइको सुविधा दिइने भएको छ।
बिहिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा वल्डलिंकले फेसबुकसँग सहकार्य गरेको घोषणा गरेको हो।
यसअघि नै फेसबुकको एक्सप्रेस वाइफाइ परियोजना नेपालमा प्रवेश भइसकेको छ। जसको मुख्य उद्देश्य सर्वसाधारणलाई सस्तो र तीव्र गतिको इन्टरनेट सुविधा दिने बताइएको छ।
२०१५ बाट सुरु भएको यो परियोजनामा फेसबुकले हाल नेपालको इन्टरनेट सेवाप्रदायक सँगको सहकार्यमा प्रवेश गरेको हो।
विकासोन्मुख तथा न्यून आय भएका देशमा इन्टरनेटको पहुँच बढाएर आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले फेसबुकले एक्सप्रेस वाइफाइ सेवा सुरु गरेको बताएको छ।
जसमा अफ्रिकाका सात मुलुक, एशियाका भारत र नेपाल, दक्षिणपूर्वी एसियाका २ र दक्षिण अमेरिकाका दुई मुलुक समावेश छ।
यो सेवा अन्तर्गत नेपालमा सस्तो, भरपर्दो र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गरिने जानकारी दिइएको छ।
वल्डलिंकले हाल नेपालको दश हजार साइटमा सार्वजनिक वाइफाइको सुविधा दिइरहेको छ। त्यस मध्य ७ हजार ५ सय साइटमा फेसबुकको एक्सप्रेस वाइफाइबाट सेवा दिइरहेको वल्डलिंकका वाइफाइ प्रोजेक्ट प्रबन्धक पुनित मानन्धरले बताए।
सेवाग्राहीले एक पटक कम्पनीको नेटवर्क चलाएपछि कम्पनीको वाइफाइ भएको ठाउँमा फेरि अर्को पटक कनेक्ट गरिरहनु नपर्ने मानन्धरको भनाइ छ।
यो सुविधा लिनका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। र कम्पनीले पठाउने कोड प्राप्त गरेर रजिस्टर गर्न सक्नेछन्।
कम्पनीको अनुसार फ्रि वाइफाइ देशका ३० हजार ठाँउमा विस्तार गर्ने योजना रहेको छ।
विशेषगरी यो सुविधा इन्टरनेट नपुगेका स्थानहरुलाई प्राथमिकता दिने वल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताएका छन्।