प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो।
हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ।
यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।
पब्लिक लिमिटेड भएसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुला भएको छ।
प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिइ इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आइपिटिभी र ओटिटी सेवा समेत संचालन गरिरहेको छ।