फेसबुकले नक्कली एकाउन्टहरु ब्यान गरेको छ।
बिहिबार फेसबुकले ‘टर्निङ पोइन्ट यूएसए’ नामक समूहका लागि नक्कली फेसबुक एकाउन्ट चलाइरहेको कम्पनी बन्द गरेर अरु धेरै एकाउन्टहरु ब्यान गरेको हो।
फेसबुकका अनुसार ‘टर्निङ पोइन्ट यूएसए’को तर्फबाट अमेरिकी मार्केटिङ कम्पनी ‘र्याली फोर्ज’ले एउटा अभियान चलाएको थियो।
जसले फेसबुकमा नक्कली एकाउन्ट बनाएर पूर्व उपराष्ट्रपति जो बिडेनको आलोचना र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेको थियो।
यो अभियानमा अमेरिकी मिडियाको फेसबुक पेजमा पनि राष्ट्रपति छनोटबारे टिपप्णीहरु दिने कार्य गरिएको थियो।
‘टर्निङ पोइन्ट यूएसए समूह’को यो गतिविधि पहिलोपटक ‘द वासिङ पोष्ट’ले अनुसन्धानमार्फत पत्ता लगाएको थियो। त्यसपछि फेसबुकको ध्यानाकर्षण भएको हो।
बिहिबार प्रकाशित एक रिर्पोटमा फेसबुकले भनेको छ, ‘यस्ता एकाउन्टमा प्रायले इन्टरनेटमा हुने फोटो प्रयोग गरी कोही रुढिवादीको रुपमा र कोही उद्धारवादीको रुपमा प्रस्तुत हुने गर्छन्। यी व्यक्तिले विशेषगरी समाचार संगठनहरु र सर्वसाधारणद्वारा पोष्ट गरिएको लेखहरुमा कमेन्ट गर्ने गर्छन्।’
सिएनएन बिजनेसका अनुसार अहिले ‘र्याली फोर्ज’लाई स्थायी रुपमा फेसबुकबाट प्रतिबन्ध गरिएको छ।
अनुसन्धानपछि फेसबुकले २ सय फेसबुक एकाउन्ट, ५५ फेसबुक पेज र ७६ वटा इन्स्टाग्राम एकाउन्ट हटाएको हो।
रिर्पोटको अनुसार यी फेसबुक पेजहरुमा करिब तीन लाख एकाउन्टले फलो गरेको र इन्स्टाग्राममा एकाउन्टमा करिब २२ हजार व्यक्तिले फलो गरेका थिए।
फेसबुकले ‘टर्निङ पोइन्ट यूएसए’ वा त्यस समूहको प्रमुख चार्ली कर्क माथि भने प्रतिबन्ध लगाएको छैन। ‘र्याली फोर्ज’ अन्तर्गत भएका गतिविधि बारे ती समूहलाई केही ज्ञान नभएको हुनसक्ने आधारमा फेसबुकले कुनै कदम नचालेको बताएको छ।
‘हामीलाई थाहा छ ती नक्कली एकाउन्ट चलाउने व्यक्तिहरु पुरानै गतिविधि जारी राख्ने प्रयास गर्नेछन्’, फेसबुकको साइबरसुरक्षा नीति प्रमुख नथनिएल ग्लेइचरले भने, ‘तर विशेषज्ञ अनुसन्धान पछि ती गतिविधि कम समयमा थोरै मानिसमा पुग्नु अघि नै उनीहरु पक्राउमा पर्नेछन्।’