मंगलबार राति एप्पलले आइफोन-१२ सार्वजनिक गरेको छ। गत सेप्टेम्बरमै सार्वजनिक हुने भनिए पनि कोरोनाका कारण आइफोन-१२ मंगलबार मात्र सार्वजनिक भएको हो।
अरूबेला दर्शकका सामु सार्वजनिक हुने आइफोन यसपालि भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ।
एप्पलले आइफोन-१२ का चार संस्करण सार्वजनिक गरेको छः आइफोन-१२, आइफोन-१२ मिनी, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स।
यहाँ हामीले आइफोन-१२ मिनीका बारेमा कुरा गरेका छौं।
कम्पनीले आफ्ना फोनमा मिनी शब्द प्रयोग गरेको पहिलोपटक हो। यसअघि आइपड, आइप्याड र म्याकका मिनी संस्करण कम्पनीले निकालिसकेको छ।
आइफोन-१२ मिनीमा ५.४ इन्चको डिस्प्ले छ। यसको आकार सानो भए पनि डिस्प्ले ठूलो हुनुको कारण यसमा टच बटन छैन। टच आइडीको साटो यसमा फेस आइडी राखिएको छ।
आइफोन-१२ को मुख्य विशेषता ५ जी नेटवर्क हो। कम्पनीले पहिलो पटक ५ जी सुविधा भएको आइफोन ल्याएको हो। आइफोन-१२ मा जस्तै आइफोन-१२ मिनी पनि ५ जी सुविधा छ। त्यसैले यसलाई कम्पनीले संसारकै सानो र हलुका ५ जी फोन भनेको छ।
यसको कुल लम्बाइ ५.१८ इन्च छ भने चौडाइ २.५३ इन्च छ। यो ०.२९ मोटो छ। यसको तौल जम्मा १३५ ग्राम भएको कम्पनीले जनाएको छ।
आइफोन-१२ मिनी पाँच रङमा उपलब्ध छ- रातो, कालो, सेतो, हरियो र निलो।
यसमा 'सेरामिक शिल्ड' प्रविधिको ग्लास हालिएको छ। यो आइफोनमा पहिलोपटक प्रयोग भएको हो। यो ग्लास अरू स्मार्टफोनमा प्रयोग हुने ग्लासभन्दा चार गुना बढी बलियो भएको कम्पनीको दावी छ।
आइफोन-१२ मिनीमा ए १४ बायोनिक चिप्स छ। यसकारण फोनको पफर्मेन्स पहिलेभन्दा ५० प्रतिशत बढी दिने बताइएको छ।
आइफोन-१२ मा चार्जर एडप्टर र इयरपड छैनन्। यसमा एउटा युएसबी टाइप- सी केबल/तार मात्र छ जसबाट चार्ज गर्नुपर्नेछ। म्याकबुक वा अरू फोनका एडप्टरमा पनि यो तार जोडेर चार्ज गर्न सकिनेछ।
आइफोनको सुरक्षाका लागि कम्पनीले 'म्यागसेफ' प्रविधि ल्याएको छ। यसले वायरलेस चार्जिङ चाँडो र सुरक्षित हुने कम्पनीको भनाइ छ।
आइफोन-१२ मा पछाडि १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलकै अल्ट्रा वाइड गरी दुइटा क्यामरा छन्। सेल्फी क्यामरा पनि १२ मेगापिक्सलकै छ। यसमा भएको नाइड-मोड सुविधाले राती फ्ल्यास बिनै उज्यालो फोटो लिन सकिनेछ।
आइफोन-१२ मिनीको मूल्य ६९९ डलरबाट सुरू हुन्छ। यो मूल्य ६४ जिबीको लागि हो। एप्पलको वेबसाइट अनुसार १२८ जिबीको ७४९ डलर र २५६ को ८४९ डलर पर्छ।
यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।
यो पनि पढ्नुस्ः महँगा आइफोन-१२ प्रो र प्रो म्याक्समा के छन् फिचर?