मंगलबार एप्पल आइफोन-१२ को पर्खाइ अन्त्य भयो। भर्चुअल कार्यक्रम मार्फत कम्पनीले आइफोन-१२ का चार मोडल सार्वजनिक गर्यो। जसलगत्तै पछिल्लो महिनादेखि नयाँ आइफोनबारे भइरहेका खुलदुली केही हदसम्म कम भएको छ।
तर यसले आइफोन प्रयोगकर्ताको मन शान्त पार्न सकेको छैन। उल्टै एप्पलका प्रशंसकहरूमा अब आइफोनको नयाँ मोडलबारे जिज्ञासा बढिरहेको छ।
एप्पलले आधिकारिक रूपमा आइफोन-१३ सार्वजनिक हुने-नहुनेबारे बताएको छैन। तर, प्रविधि सम्बन्धी समाचार लेख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आइफोन-१३ का बारेमा अड्कल काट्न पनि थालिसकेका छन्।
अमेरिकाको विश्वव्यापी बजार अनुसन्धान कम्पनी 'डिस्प्ले सप्लाइ चेन कन्सलटेन्ट'का संस्थापक रोस योंगका अनुसार एप्पलले सन् २०२१ मा आइफोन-१३ सार्वजनिक गर्न सक्नेछ। जसमा चार नयाँ मोडल समावेश हुनेछन्।
-५.४२ इन्चको आइफोन १३
-६.०६ इन्चको आइफोन १३
-६.०६ इन्चको आइफोन १३ प्रो
-६.६७ इन्चको आइफोन १३ प्रो म्याक्स
अनलाइन ब्लग 'क्रिएटिव ब्लक' र 'एप्पल इनसाइडर' का अनुसार आइफोन-१३ मा केही प्रमुख अपडेटहरू समावेश हुनेछन्।
प्रयोगकर्ताको इच्छालाई ध्यानमा राखेर एप्पलले नयाँ आइफोनमा टच आइडी र नोच फिचरमा काम गरिरहेको बताइएको छ। नोच भनेको स्क्रिन डिस्प्लेमाथि हुने सानो काटिएको जस्तो भाग हो जसमा सेल्फी क्यामेरा र सेन्सर समावेश हुन्छ।
यो घुमाउरो काटिएको जस्तो भाग समतल डिस्प्ले रूचाउने धेरै स्मार्टफोन डिजाइनर र प्रयोगकर्तालाई मनपरेको छैन। त्यसैले एप्पलले अब आइफोन-१३ मा सानो नोच राख्ने अनुमान गरिएको छ।
टेक विश्लेषक जोन प्रोसरका अनुसार आइफोन-१३ मा नोच साँघुरो आकारमा आउने छ। अर्को टेक विश्लेषक आइस युनिभर्सले पनि आइफोन-१३ को नोच आइफोन-१२ को भन्दा सानो हुने बताएको छ।
हाल आइफोन-१३ का असंख्य प्रोटोटाइप रहेका कारण नोचको आकार कस्तो हुन्छ, यकिन भने छैन।
साथै आइफोन-१३ पनि आइफोन-१२ झैं फाइभ-जी कनेक्टिभिटी फिचरका साथ आउने रिर्पोटको भनाइ छ। यसका सबै मोडलमा फेस आइडी सुविधा हुनेछ।
'डिस्प्ले सप्लाइ चेन कन्सलटेन्ट'का संस्थापक रोस योंगका अनुसार ५.४२ इन्च र ६.०६ इन्चको आइफोन-१३ मा दुइटा क्यामरा हुनेछन्।
अरू दुई, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्समा भने तीन वटा क्यामरा फिचर समावेश उनको अनुमान छ।