डिज्नीले आफ्ना पुराना फिल्महरूमा देखाउने जातियता सम्बन्धी चेतावनी र सन्देश अपडेट गरेको छ। गत वर्ष डिज्नीले क्लासिक फिल्म जस्तै 'जंगल बुक’, 'पिटर प्यान’, 'लेडी एन्ड द ट्र्याम्प’, 'डम्बो’, 'द एरिस्टोक्र्याट’ लगायत फिल्ममा जातिवादि सामग्री (कन्टेन्ट) रहेको भन्दै फिल्मअघि चेतावनी र सन्देश दिन सुरू गरेको थियो।
तिनै सन्देशहरूलाई डिज्नीले थप प्रभावकारी बनाएको बिबिसीले लेखेको छ।
अब डिज्नी प्लसमा पुराना फिल्म सुरू हुनु अगावै सन्देशमूलक र पहिलेको तुलनामा थप प्रभावकारी चेतावनी देखाइने भएको हो।
'यस कार्यक्रममा निश्चित व्यक्ति र उनीहरुको संस्कृतिको दुर्व्यवहार गरेको देखाइएको छ भने उनीहरूलाई नकारात्मक चित्रण गरेको छ,’ चेतावनीले भन्छ, 'देखाइएका रुढिवादी पहिले गलत थिए र अहिले पनि गलत छन्।’
डिज्नीले ती फिल्मका कन्टेन्ट हटाउनुको साटो सन्देशसहित देखाउनु पछाडि पनि कारण रहेको बताएको छ।
सन्देशमार्फत थप भनेको छ, 'हामी यी कन्टेन्टको नकारात्मक प्रभाव देखाउन चाहन्छौं। यसबाट सिक्नुहोस् र भविष्यमा समावेशी समाजको सिर्जना गर्नका लागि आफ्नो तर्क राख्नुहोस् भन्ने चाहन्छौं।’
कम्पनीले पहिलो पटक गत नोभेम्बरमा फिल्महरुमा जातिवादबारे चेतावनी सन्देश थपेको थियो। तर त्यो निकै छोटो थियो। त्यस बेला लेखिएको थियो, 'यो कार्यक्रम मौलिक ढंगमा प्रस्तुत गरिएको छ। यसमा पुराना सांस्कृतिक गतिविधि चित्रण गरिएका छन्।’
फिल्म 'द एरिस्टोक्र्याट’ मा पहेंलो रङ भएको बिरालोले चपस्टिकले पियानो बजाएको देखाइन्छ। यसलाई एसियाली व्यक्तिको जातीय वर्णको रूपमा चित्रण गरिएको छ।
त्यस्तै 'पिटर प्यान’मा अमेरिकीहरूलाई 'रेडस्किन’ भनिएको छ। निकै रुचाइएको फिल्म तथा कार्टुन र एनिमेसन समेत रहेको 'जंगल बुक’मा अफ्रिकन अमेरिकीहरू अल्छी हुन्छ भन्ने चित्रण गरिएको छ।
यस्ता फिल्मका कन्टेन्ट रुढिवादी र जातियता रहेको भन्ने खुलाउन डिज्नीले आफ्नो चेतावनी सन्देश थप प्रभावकारी र बुझिने ढंगमा लेखेको हो।