अमेरिकन एजेन्सी नासाले चन्द्रमा ४ जी नेटवर्क राख्ने तयारी गर्दैछ। मोबाइल कम्पनी ‘नोकिया’ सँगको सहकार्यमा नासाले चन्द्रमामा ४ जी नेटवर्कको सुविधा सुरु गर्न लागेको हो।
सिएनएन बिजिनेसका अनुसार नासाले सन् २०२८ सम्म चन्द्रमामा मानव उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ। जसको लागि नासाले चन्द्रमाको सतहमा प्रविधि विस्तार गर्न एक दर्जन भन्दा बढी कम्पनीहरुलाई ३७० मिलियन डलर प्रदान गरेको थियो।
यी आविष्कारहरुमा रिमोट पावर उत्पादन, रोबोटिक्स, सुरक्षित ल्यान्डिङ, ४ जी नेटवर्कको सुविधा जस्ता प्रविधि समावेश गरिएको थियो।
यसै प्रयोजना अन्तर्गत नोकियाको औद्योगिक अनुसन्धान तथा वैज्ञानिक विकास कम्पनी ‘बेल ल्याब’लाई १४.१ मिलियन डलर प्रदान गरिएको थियो।
‘बेल ल्याब’ले ४ जी–एलटिइ नेटवर्क निर्माण गर्न स्पेसफ्लाइट इन्जिनियरिंग कम्पनी ‘इन्टुइटिभ मेसिन्स’ साझेदारी गर्ने रिर्पोटले बताएको छ।
नासाको अनुसार ४ जी नेटवर्कले चन्द्रमामा रहेको हालको रेडियो मानकहरु भन्दा बढी भरपर्दो र लामो दुरीको सञ्चार प्रदान गर्न सक्छ। यो नेटवर्कपछि पृथ्वीमा जस्तै ५जी नेटवर्कमा पनि अपग्रेड हुनेछ।
यो नेटवर्क चन्द्रमा सतहलाई ध्यानमा राखेर डिजाइन गरिएको छ र चन्द्रमामा रकेट ल्यान्ड गर्ने क्रममा पनि राम्रोसँग चल्ने छ।
बेल ल्याबको अनुसार अन्तरिक्ष यात्रीले यो वायरलेस नेटवर्क डाटा प्रसारण, चन्द्रमा भुगोलको वास्तविक समय जाँच्न र उच्च गुणस्तरको भिडियो स्ट्रिमको लागि प्रयोग गर्नेछन्।
पृथ्वीमा ४ जी नेटवर्क ठूला पावर जेनरेटर र रेडियो भएका विशाल सेल टावरबाट चलिरहेको छ। तर, बेल ल्याबले रकेटमा प्याक गर्न सहज होस् भनेर यसका लागि सानो सेल टेक्नोलोजी निर्माण गरेको छ।
यो सेल सिमित दायरामा केन्द्रित छ यद्यपी परम्परागत सेल टावरहरूको तुलनामा यो कम पावरमा चल्नेछ। यो सानो सेल टेक हाल विश्वभर ५ जी नेटवर्कका लागि प्रयोग भइरहेको छ।