कोरोना भाइरस महामारीसँगै सम्पूर्ण मनोरञ्जन क्षेत्र अस्तव्यस्त रह्यो। यस्तोमा फिल्म तथा भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सलाई भने राम्रो व्यवसाय मिल्यो।
महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कारण अधिकांश जनता घरभित्रै थुनिए। त्यस बखतको साथी भनेकै नेटफ्लिक्स थियो।
सिएनएनका अनुसार नेटफ्लिक्सले विगत छ महिनामा थुप्रै ग्राहक कमाएको बताएको छ। जस कारण यस वर्ष सेयर ७० प्रतिशत वृद्धि हुन मद्दत गरेको बताइएको छ।
अब भने लगानीकर्ताहरू नेटफ्लिक्सले आफ्नो यो गति अर्को वर्षमा समेत स्थिर राख्न सक्लान् कि नसक्लान् भनेर जान्न उत्सुक छन्।
कम्पनीको तेस्रो त्रैमासिकको रिपोर्ट आउन केही समय बाँकी छ।
रोसेन्ब्लाट सेक्युरिटीका वरिष्ठ विश्लेषक बर्नी म्याकटर्नका अनुसार कम्पनीले अर्को वर्षका लागि पनि विशेष ध्यान दिनेछ। नेटफ्लिक्सको तेस्रो त्रैमासिकमा २५ अर्ब उपभोक्ता हुने पूर्वानुमान छ। तर अर्को वर्ष अहिलेको तुलनामा कम उपभोक्ता हुन सक्ने पनि अनुमान बर्नी म्याकटर्नको छ।
'सन् २०२१ मा ग्राहकहरुको बृद्धि एकदमै सुस्त गतिमा हुन्छ भन्ने लाग्छ,' उनले सिएनएनलाई भनेका छन्, 'हामीलाई लाग्छ २०२१ नेटफ्लिक्सका लागि अझ चुनौतीपूर्ण बन्नेछ।'
उनीले कम्पनीले अर्को वर्ष मूल्य बढाउँछ वा बढाउँदैन भन्ने जान्नसमेत उत्सुक रहेको बताएका छन्। उनका अनुसार उनीहरूले गरेको स्ट्रिमिङ भिडिओ सर्वेक्षणमा प्रयोगकर्ताहरूदे नेटफ्लिक्सले मूल्य बढाएमा सदस्यता लिने महिना कटौती गर्ने र धेरैले सदस्यता रद्द समेत गर्ने बताएका थिए।
त्यस्तै नेटफ्लिक्सको लागि अर्को वर्ष चुनौतीपूर्ण हुन सक्ने अर्को कारण भनेको प्रतिस्पर्धा बढ्नु पनि हुन सक्छ। सिएनएनका अनुसार सन् २०२० मा नेटफ्लिक्स स्ट्रिमिङ संसारको 'राजा' थियो। डिज्नी प्लस जस्ता नयाँ सेवाहरू प्रारम्भिक तहमा थिए भने 'पिकक' र 'एचबिओ' जस्ता अन्य स्ट्रिमिङ प्लेटफर्म पनि थिएनन्।
सन् २०२१ नजिकिँदै गर्दा डिज्नीले भिडिओ तथा फिल्म स्ट्रिमिङमा विशेष जोड दिइरहेको छ। डिज्नी प्लसले एक वर्षभन्दा कम समयमै ६० करोड बढी ग्राहकहरू बनाएको छ भने, सन् २०२४ सम्म ९० करोड ग्राहक बनाउने लक्ष्य कम्पनीले राखेको छ।
'डिज्नीले कम्पनीको स्ट्रिमिङमा जोड दिने भनिएको छ,' बर्नी म्याकटर्नले भनेका छन्, 'नेटफ्लिक्सले यस प्रकारको प्रतिस्पर्धा यस अघि सामना गर्नु परेको थिएन। कुनै पनि प्रतिस्पर्धा बिनाको हाम्रो सहज दिन सकिएको छ।'
बर्नीका अनुसार नेटफ्लिक्सले महामारी समय निकै राम्रो व्यवसाय गर्यो। र, यसले संसारभर आफ्नो नाम पनि स्थापित गर्यो। उनी भन्छन्, 'यो निकै ठूलो कम्पनी हो। तर लाग्छ कि यो निकै गाह्रो स्टक पनि हो।'