नेपाल टेलिकमले देशका विभिन्न मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाबारे स्थानीय भाषामा जानकारी दिदै आएको छ।
कम्पनीले दिइरहेको सेवाको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी दिइरहेको हो।
यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ।
विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेको टेलिकमले बतायो।
राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन्।
यी सन्देशमा नेपाल टेलिकमको विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र यसको प्रयोग गर्ने तरिकाबारे जानकारी दिने हुनाले देशभरीका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा छ।
नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ।
त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ।