नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन्। यो भन्दा पहिले उक्त क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो।
दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ।
लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ रुपैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।
ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले निशुल्क सिम वितरण शुरु गरेको छ।
त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको टेलिकमले बताएको छ।
करिब १ हजार २ सय ३० मिटर उचाइमा रहेको यो टावरले पनि सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ ।
साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरिएको छ।
कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्षदेखि केन्द्र सञ्चालनमा थिएन।
ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुने बताइएको छ।
यससँगै सेवावापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सक्नेछन्।