केही समयअघि एप्पलले आइफोनको हालसम्मकै राम्रो र महँगो मोडलहरु सार्वजनिक गर्यो।
थुप्रै नयाँ फिचर र विशेषताको साथ आइफोन १२ का चार मोडलहरु बजारमा उपलब्ध गराइएको छ। जुन आइफोन प्रयोगकर्ताले निकै रुचाएका छन्।
यी फिचर मध्ये ‘सेरामिक शिल्ड’ प्रयोग गरेर बनाएको आइफोनका नयाँ मोडलहरु प्रयोगकर्तालाई धेरै उपयोगी भएको छ।
यो शिल्डको प्रयोगले आइफोन १२ अन्य स्मार्टफोन भन्दा चार गुणा बलियो हुने एप्पलले दाबी गरेको थियो।
यता अमेरिकी बिमा कम्पनी ‘अलस्टेट प्रोटेक्सन प्लान’ले भने नयाँ आइफोन १२ का मोडलहरु एप्पलले बताएअनुसारको बलियो नरहेको बताएको छ।
सिएनएन बिजिनेसका अनुसार अलस्टेटले केही दिन अगाडी आइफोन १२ मोडलको सेरामिक शिल्ड स्क्रिनको परीक्षण गरेको थियो।
परीक्षण पछि कम्पनीले आइफोनका ती नयाँ मोडल अहिलेसम्मकै टिकाउ स्मार्टफोन भएको मान्यता दिएको थियो। तर, अझैपनि ती तोड्न सकिने बताइएको छ।
कम्पनीले नयाँ आइफोन ‘बे्रकबिलिटी ड्रप टेस्ट’ मार्फत परीक्षण गरेको थियो, जसमा फोनलाई ६ फिट उचाइबाट फुटपाथमा खसालिएको थियो।
यी फोन अगाडिको स्क्रिन, पछाडि र छेउपट्टी फर्काएर तीन पटक खसालिएको थियो।
अलस्टेटको अनुसार आइफोन १२ र आइफोन १२ प्रोको फ्ल्याट डिजाइनले गर्दा यसलाई पछाडी फर्काएर खसाल्दा केही असर पर्दैन। तर यसको मतलब यो फोन नफुट्ने भन्ने होइन।
स्क्रिन परीक्षणको क्रममा आइफोन १२ प्रो आइफोन १२ भन्दा खराब देखिएकाे अलस्टेटको भनाइ छ।
कम्पनीको अनुसार आइफोन १२ प्रोलाई पछाडिबाट खसाल्दा फुट्यो, आइफोन १२ मा भने केही क्षती भएन।
आइफोन १२ प्रो अगाडि स्क्रिन पट्टिबाट खसालियो, यसको स्क्रिनको तल्लो आधा भाग क्र्याक भयो। यसैमा आइफोन १२ भने थोरै मात्र चर्कियो।
यी उपकरणमा देखिएको क्षती धेरै असर पर्ने किसिमको थिए। यसले गर्दा फोनको कार्यमा कुनै असर देखिएन।
यी दुई आइफोन अघिल्लो मोडल आइफोन ११ भन्दा धेरै राम्रो रहेको अलस्टेटले निष्कर्ष निकालेको छ।
‘सेरामिक शिल्डको प्रयोग आइफोनको अहिलेसम्मकै ठूलो सुधार मध्य पर्छ,’ अलस्टेट प्रोटेक्सन प्लानका उपाध्यक्ष तथा निर्देशक जेसन सिसिलियानोले भने, ‘नयाँ आइफोनका दुवै मोडल फुटपाथमा खस्दा क्षती भयो। त्यसैले हामी सबै आइफोन प्रयोगकर्तालाई आफ्नो आइफोन १२ मा प्रोटेक्टिभ केस राखेर प्रयोग गर्न सुझाव दिन्छौँ। यो महँगो स्मार्टफोनलाई निकै हेरचाह गरेर चलाउनु पर्छ।’