गुगलको भिडियो कम्युनिकेशन सेवा ‘गुगल मिट’मा अब आफूले चाहेको पृष्ठभूमि प्रयोग गर्न मिल्ने भएको छ।
कम्पनीले केहीदिन अघि ब्लग पोष्ट मार्फत यस भिडियो बैठक प्लेटफर्मको लागि अनुकूल कस्टम पृष्ठभूमिहरु प्रस्तुत गरेको घोषणा गरेको थियो।
जसबाट प्रयोगकर्ताले भिडियो कलको समयमा आफ्नो रोजाइको पृष्ठभूमि राख्न सक्छन्।
अनलाइन मार्फत भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगलले केही समय अगाडि गुगल मिट सुरु गरेको थियो। कोरोनाको विश्व महामारीका कारण भौतिक भेटघाट कम हुँदै गएपछि भने यसको प्रयोग बढ्न थालेको हो।
प्रयोगकर्ता बढेसँगै कम्पनीले यस सेवामा थुप्रै नयाँ फिचर थप्दै लगिरहेको छ। हाल सार्वजनिक गरेको पृष्ठभूमि परिवर्तन गर्न मिल्ने नयाँ फिचर पनि यिनै अपडेट भित्र पर्छ।
अनलाइन टेक अखबार ‘द भर्ज’को अनुसार गुगल मिटको क्रममा पृष्ठभूमि परिवर्तन गर्नको लागि छुट्टै ब्राउजर प्रयोग गर्न आवश्यक पर्दैन।
प्रयोगकर्ताले आफ्नै फोटो कलेक्सन वा गुगल लाइब्रेरीमा रहेको फोटोहरु प्रयोग गर्न सक्छन्। गुगलले प्रदान गर्ने फोटाहरुमा भने ल्याण्डस्केप, कला र अफिसको फोटो रहेको छ।
कम्पनीकाअनुसार गुगलको क्रोम ब्राउजरबाट गुगल मिट प्रयोग गर्ने व्यक्तिले विन्डोज, म्याक ल्यापटप र डेस्कटपहरुमा पनि यो सुविधा लिन सक्छन्। मोबाइलमा भने यो फिचर चाँडै आउने गुगलको भनाइ छ।
पछिल्लो महिना गुगल मिटले पृष्ठभूमिलाई धमिलो पार्ने र भिडियोको प्रकाश कम गर्न मिल्ने फिचर ल्याएको थियो।
यसैगरी गुगल मिट जस्तै अनलाइन बैठक तथा कार्यक्रम गर्न मिल्ने जुमले भने कस्टम पृष्ठभूमि प्रयोग गर्न मिल्ने सुविधा ल्याइसकेको छ।