एनसेल आजियाटा लिमिटेडले कोरोनाभाइरसबारे जनसचेतना फैलाउने अभियानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सहकार्य गरेको छ।
साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु व्यापक रपमा फैलाइएको छ।
जसअन्तर्गत व्यक्ति–व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशहरु रहेका छन्।
एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गरेर कोरोना भाइरसबारे जनचेतना फैलाउन प्रतिबद्ध रहेको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो विषम परिस्थितिमा जनसचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्ने बताए।
उनले भने ‘कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेल र युनिसेफले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सरहना गर्दछौं।’
संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने अति आवश्यक सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकै नै महत्वपूण हुने नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले बताइन्।