चिनियाँ एप टिकटक विश्वव्यापी रुपमा सबैभन्दा धेरै डाउनलोड गरिएको एपमा पर्न सफल भएको छ।
छोटो भिडियो र मनोरञ्जनको लागि चर्चित एप टिकटक लगातार छैटौँ पटक विश्वको सर्वाधिक डाउनलोड भएको एप बन्न सफल भएको हो।
सेन्सर टावरले निकालेको २०२० अक्टोबरको चार्टमा उक्त एपले फेरि एकपटक अन्य ठूला एपलाई उछिनेको देखाइएको छ।
६६ मिलियन इन्स्टल सहित टिकटकले ह्वाट्स्याप, फेसबुक, इन्स्टाग्राम र जुमलाईपछि पारेको छ।
यो डाउनलोड संख्या गत वर्षको भन्दा ९.५ प्रतिशतले वृद्धि भएको सेन्सर टावरको रिर्पोटले देखाएको छ।
टेक हिन्दुस्तानको अनुसार गत मेमा नै टिकटकले शीर्ष स्थान हासिल गरेको थियो। त्यसलगत्तै एपले आफ्नो स्थान कायम राखेको छ।
यस अवधिमा चीनको दोउइनमा र ब्राजिलमा टिकटक बढी डाउनलोड भएको थियो।
टिकटकले समग्र एप डाउनलोड सूचीमा मात्र नभइ गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरको डाउनलोडसूचीमा पनि र्शीष स्थान हात पारेको रिर्पोटमा उल्लेख छ।
यो सूचीमा ह्वाट्स्याप भने ५७ मिलियन इन्स्टल संख्याले दोस्रो स्थानमा परेको छ। यससँगै फेसबुक, इन्स्टाग्राम र जुम तेस्रो, चौथो र पाँचौ स्थानमा पर्न सफल भएको छ।