आइफोन-११ सबैभन्दा बढी 'सिपिङ' हुने स्मार्टफोनमा पर्न सफल भएको छ। अमेरिकी कम्पनी एप्पलकाे याे फाेन जहाजमार्फत अन्य देशमा सिपिङ हुने फाेनकाे सूचीमा अग्रस्थानमा रहन सफल भएकाे एनडिटिभी ग्याजेटले जनाएकाे छ।
बजार विश्लेषक क्यानालिसले निकालेको विश्वको शीर्ष दश सिपिङ स्मार्टफोनहरुको सूचीमा एप्पलको आइफोन ११ ले पहिलो स्थान हात पारेको हो।
क्यानालिसले ट्विटरमा २०२० को पहिलो त्रैमासिक भित्र विश्वव्यापी रुपमा धेरै बिक्री भएको मुख्य दश स्मार्टफोनहरुको ग्राफ हालेको थियो। जसमा आइफोन ११ एक करोडभन्दा बढी बिक्री भएको देखाएको थियो।
एनडिटिभी ग्याजेट अनुसार गत अक्टाेबरमा मात्र सार्वजनिक भएको आइफोन १२ ले गर्दा आइफोन ११ शीर्ष स्थानमा परेको हो।
यो वर्ष आइफोन १२ को रिलिज ढिलो भएको थियो। सँगै आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्सको तुलनामा आइफोन ११ सस्तो पर्ने भएकोले ग्राहकबीच यसको आर्कषण बढेको हो।
ग्राफको दोस्रो स्थान आइफोन एसइले एक करोडको बिक्री सहित हात पारेको छ।
समग्रमा ग्राफमा धेरै संख्याको स्थान ल्याउने दौडमा भने स्मार्टफोन ब्रान्ड सामसङ अघि परेको छ।
पाँच वटा स्मार्टफोन शीर्ष दश भित्र परेसँगै सामसङको बहुमत बढेको हो।
सामसङको ग्यालेक्सी ए२१एसले विश्वमा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा तेस्रो स्थान पाएको छ। यसैगरी ग्यालेक्सी ए११, ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३१ ले भने ग्राफमा चौथो, पाँचौं र आठौं स्थान ओगटेको छ।
अन्तिम दशमा पनि सामसङको ग्यालेक्सी ए०१ कोर रहेको छ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पनि ग्राफमा तीनवटा स्थान लिन सफल भयो। यसको रेडमी नोट९ ले छैटौं रेडमी ९ ले सातौं र रेडमी ९एले आठौं स्थान हात पारेको छ।
क्यानालिसको रिर्पोट अनुसार गत वर्षको अन्तिमदेखि सामसङको विश्वव्यापी ढुवानी दुइ प्रतिशतले बढिरहेको थियो। यो वर्षको पहिलो तीन महिनासम्म यसका आठ करोडभन्दा बढी उपकरण बिक्री भएको थियो।
कोरोना महामारीले गर्दा यो वर्ष भने सामसङको विश्वव्यापी ढुवानी एक वर्षमा एक प्रतिशतको दरले भइरहेको छ।
सामसङ पछि शाओमीले पनि वार्षिक ४५ प्रतिशतले वृद्धि गरेको क्यानालिसले बताएको छ।
एप्पलको वार्षिक वृद्धि भने एक प्रतिशतले घटेको रिर्पोटले जनाएको छ।