सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्रमुख सुरक्षा तहमा विश्वको सबैभन्दा सम्मानित ह्याकर मध्ये पर्ने व्यक्तिलाई नियुक्त गर्दैछ।
ह्याकर ह्याण्डल ‘मड्ज’ नामले परिचित पिइटर जाट्कोलाई सोमबार कम्पनीले सुरक्षा प्रमुखको नयाँ पदमा राख्ने भारतीय सञ्चार माध्यम टेक हिन्दुस्तानले बताएको छ।
टेक हिन्दुस्तानका अनुसार केही समय यता ट्वीटरले गम्भीर सुरक्षा उल्लघंन र गलत सूचना जस्ता समस्या सामना गरिरहेको थियो। यहीँ कारण कम्पनीले सुरक्षा क्षेत्रमा पर्ने भरपर्दो व्यक्ति चुनेको हो।
पिइटर जाट्कोले यसअघि गुगलको विशेष परियोजनामा काम गरेका थिए।
उनले अमेरिकाको रक्षा विभागको मुख्य भवन पेन्टागनको प्रख्यात ‘डिफेन्स एडभान्स रिसर्च एण्ड प्रोजेक्ट एजेन्सी (डार्पा)का प्रयोजनाहरुमा पनि अनुदान पुराएका थिए।
अब भने उनी ट्वीटरका लागि काम गर्ने छन्।
‘मलाई थाहा छैन यदि कसैले ट्वीटरको सुरक्षा मिलाउन सक्छ वा सक्दैन, तर पिइटर जाट्को मेरो सूचीको शीर्ष स्थानमा पर्छन्,’ डार्पामा जाट्कोलाई निरीक्षण गरेका डान काउफम्यानले भने।
एक अन्तर्वार्तामा जाट्कोले अब ट्वीटरको जानकारी सुरक्षा, शारीरिक सुरक्षा, प्लेटफर्मको दुरुपयोग र हेरफेरमा जाँच सुरु गर्ने बताएका थिए।
साइटको सुरक्षाबारे ४५ देखि ६० दिनसम्म परीक्षण गरेपछि मात्र उनले प्रमुख सुरक्षा कार्यहरुको व्यवस्थापन लिने रिर्पोटको भनाइ छ।