अभिभावकले अब आफ्ना साना छोराछोरीले टिकटक कसरी चलाइरहेका छन् भनेर देख्न र नियन्त्रण गर्न सक्ने भएका छन्।
सिएनएन बिजनेसकाअनुसार टिकटकले आफ्ना लाखौँ किशोर–किशोरी प्रयोगकर्ताका अभिभावकलाई उनीहरुका बालबच्चाले देख्न र सेयर गर्न सक्ने कुराहरु प्रतिबन्धित गर्न थप सुविधा दिएकाे छ।
मंगलबार चर्चित चिनियाँ एपले अभिभावकको लागि नयाँ होस्ट आउने घोषणा गरेको थियो।
जसमा परिवारका ठूला सदस्यले आफ्ना बालबालिकाले टिकटकमा कस्ता विषय खोजी गर्छन्, उनीहरुको प्रोफाइलमा कस्ता व्यक्तिले कमेन्ट गर्न सक्छन् र उनीहरुले लाइक गरेको भिडियो कस्ता व्यक्तिले हेर्न सक्ने र प्रोफाइल प्राइभेट छ वा छैन भनेर थाहा पाउन सक्ने जस्ता कुरा निर्णय गर्न सक्छन्।
‘हाम्रो उद्देश्य किशोर–किशोरीहरुको लागि सुरक्षित वातावरण कायम गर्नु हो, किनकी हामी स्वयम् एक सुरक्षित र सहयोगी ठाउँ सिर्जना गर्ने कार्य गर्दैछौँ,’ टिकटकका ग्लोबल माइनर सेफ्टी पोलिसीका प्रमुख ट्रेसी एलिजाबेथ र यसै कम्पनी अन्तर्गत युरोपका लागि चाइल्ड सेफ्टी पब्लिक पोलिसीका प्रमुख अलेक्जान्ड्रा इभान्सले एक ब्लग पोस्टमा लेखेका छन्।
स्ट्याटिस्टाद्वारा प्रकाशित विश्लेषक फर्म एप ‘एपे’ को तथ्यांकले देखाएअनुसार टिकटकमा युवा प्रयोगकर्ताहरु बढी हावी छ।
जुन २०२० सम्म अमेरिकामा मात्र टिकटकको ३२.५ प्रतिशत प्रयोगकर्ता १० र १९ वर्ष उमेरका युवाहरु थिए।
टिकटकले सार्वजनिक गरेको यो नयाँ फिचर यो वर्ष फेब्रुअरीमा आएको ‘फ्यामेली सेफ्टी मोड’ फिचरको एक हिस्सा हो।
उक्त फिचर युरोपका केही देशहरुमा मात्र उपलब्ध थियो, जसमा अभिभावकले आफ्नो टिकटक अकाउन्ट आफ्ना बालबच्चाका अकाउन्टसँग जोड्न सक्थे। यसमा बालबालिकाले हरेक दिन टिकटकमा कति समय बिताउन सक्छन्, उनीहरुले कस्ता विषयका भिडियो हेर्न सक्छन् र कति जनाले उनीहरुलाई मेसेज पठाउन सक्ने भनेर अनुमति दिन सक्थे।
यी पुराना फिचरहरुलाई अझै विस्तार गर्दै टिकटकले विश्वव्यापी रुपमा उपलब्ध गराउने भएको छ।
‘जब अनलाइनमा युवाहरुको उपस्थिति बढ्दै जान्छ, परिवारलाई पनि उनीहरु सँगै जोड्न जरुरी छ,’ ट्रेसी एलिजाबेथ र अलेक्जान्ड्रा इभान्सले भने, ‘यसरी बालबच्चामा नराम्रो संगत पर्ने डर कम हुन्छ र परिवार पनि आफ्ना बच्चाहरुका क्रियाकलापमा समावेश हुन सक्छन्।’
प्राय युवाहरु एपमा नाच्ने, कमेडी गर्ने र लिपसिंक गरेर पन्ध्र सेकेन्डको भिडियो बनाउने गर्छन् र यो ट्रेन्ड तिनै उमेरहरुबीच निकै चर्चित छ।
अमेरिकामा १३ वर्षभन्दा मुनिका प्रयोगकर्ताका लागि टिकटकको अर्को सीमित संस्करण उलब्ध गराइएको छ। यसमा उनीहरुले भिडियोमा कमेन्ट वा सेयर गर्न र कसैलाई मेसेज पठाउन सक्दैनन्, तर बालबालिकालाई उपयुक्त हुने भिडियोहरु भने हेर्न सक्छन्।