नेपालको इन्टरनेट सेवा प्रादायक कम्पनी वर्ल्डलिंङ्क कम्युनिकेसनले नेटवर्क ब्याकबोनको क्षमता बढाउने भएको छ। नोकिया आइपी तथा कम्युनिकेसनले उपलब्ध गराउने नयाँ नेटवर्क हाल प्रायोग भइरहेको भन्दा गुणस्तरीय हुने कम्पनीले जानकारी दिएको छ। यससम्बन्धि नोकियासँग सम्झौता भई काम अगाडि बढीसकेको जानकारी दिइएको छ।
उक्त सम्झौताको बारेमा प्रेस विज्ञप्ति जारी गर्दै नोकियाले यो नयाँ प्रविधिको अप्टिकल विस्तार भएपछि वर्ल्डलिङ्कको नेटवर्कमा एचडी, फोरके भिडियो तथा इन्टरनेट टिभीजस्ता सेवा सहजै दिनसक्ने बताएको छ।
विदेशबाट ब्यान्डवीथ (इन्टरनेट-नेटवर्क) ल्याउँदा हालसम्म ‘१० जी’ अप्टिकल प्रयोग गर्दै आएको कम्पनीले अब १०० जी क्षमताको विस्तार गर्ने र त्यसबाट प्रशस्त ब्यान्डवीथ प्रसार हुने वर्ल्डलिंकका कार्यकारी निर्देशक विजय जालनले जानकारी दिए।
हाल नेपालमा अन्य सेवाप्रदायकहरुले पनि १० जी क्षमताका ४/५ वटा इक्यूपमेन्ट राखेकामा वल्र्डलिंकले पहिलेपटक यो क्षमताको प्रविधि राख्न लागेको जालनको भनाइ छ।
यो प्रविधि राखेपछि ग्राहकहरुलाई भनेजति इन्टरनेट दिनसकिने जालनको भनाइ छ।
अहिले नेपालका इन्टरनेट सेवाप्रदायकहरुले भने जति गतिको इन्टरनेट नदिने गुनासो बढीरहेको सन्दर्भमा वल्डलिङ्कले भने अब ग्राहकको कुनै पनि गुनासो नआउने गरी सेवा दिनसकिने बताइएको छ।
हाल १ लाख २० हजार ग्राहक रहेको वर्ल्डलिंकले अबका दिनमा काठमाडौं र बाहिरका सहरहरुमा उच्चगतिको इन्टरनेटको पहुँच विस्तार गर्ने बताएको छ।
अबको एक महिनामा नयाँ प्रविधि आएपछि विदेशबाट आउने ब्यान्डवीथ भनेजति ल्याउन सकिने र त्यसबाट उपभोक्ताहरुलाई पनि भनेजति नै वितरण गर्न सकिने वल्डलिंकले बताएको छ।
हाल कसैले ५ एमबिपिएस पाइरहेको ग्राहकले आगामी दिनमा त्यही मूल्यमा ७/८ गतिको इन्टरनेट पाउन सक्छन्। त्यतिमात्र भन्दा पनि अहिलेको मुख्य समस्या भनेको ५ एमबीपिएस भनेपनि उपभोक्ताले सँधै नपाउने रहेको छ। तर यो प्रविधिको विस्तार भएपछि वर्ल्डलिङ्कका ग्राहकले त्यस्तो समस्या भोग्ननपर्ने जालनको भनाइ छ।
त्यस्तै भोल्युम बेस वा अनलिमिटेड प्याकेज बनाउँदापनि त्यस्तै डिजाइन गर्न सकिने कम्पनीलाई बाटो खुल्ला हुने छ।