नेपालमा कुनै पनि प्रकारको इन्टरनेट सेवा महंगो भएको सबैको गुनासो रहन्छ। तर यसको कारण के हो त? सेवा प्रदायकहरुले भने नेपालमा इन्टरनेट महँगो हुनुको मुख्य कारण इन्टरनेटको स्थानीयकरण नहुनुलाई बताएका छन्।
धुलीखेलमा आयोजित एक कार्यक्रमा बोल्दै इन्टरनेट प्रदायक संस्था वर्डलिङ्कका दिलिप अग्रवालले इन्टरनेट नेपालको आफ्नो उत्पादन नभई आयातित भएको तर नेपालमा प्रयोग हुने भाषामा कम्प्युटर एप्लिकेसन असम्भव भएकाले महँगो हुने बताए।
माइक्रोसफ्टका क्षेत्रीय प्रतिनिधि एलेन तुलाधरले माइक्रोसफ्टले इन्टरनेट प्रयोगकर्ताको सुरक्षाका लागि प्रशस्त एप्लिकेसन निर्माण गरेको जानकारी दिदै तुलाधरले नेपालमा इन्टरनेटका विषयमा गहन अध्ययन एंव विश्लेषण गर्न बहुसरोकारवाला निकायहरुको संयुक्त प्रयास आवश्यक भएको बताए।
उनका अनुसार, इन्टरनेट महँगो हुनाका अर्को प्रमुख कारण नेपालमा सोसल मिडियाको अति धेरै प्रयोग हो । यदि विदेशमा बसेका नेपालीले नेपालमा बस्ने परिवार÷नातेदारसँग स्काइपमा गफ गर्ने हो भने इन्टरनेटमा हुने खर्च निक्कै कम हुने तुलधारको सुझाव छ ।
उक्त चारदिने कार्यक्रममा विपद्मा इन्टरनेटको सदुपयोग, अपाङ्गता भएका व्यक्तिको इन्टरनेटमा पहुँच, सुशासन स्थापनामा इन्टरनेटको प्रयोग, ब्रोडब्याण्डको विस्तारमा बहुसरोकारवाला निकायको भूमिका, इन्टरनेट प्रदायक संस्था तथा नियामक निकायसँग प्रयोगकर्ताको विश्वास र सुरक्षा, इन्टरनेट प्रयोग र विस्तारमा सीपयुक्त मानवश्रोतको उत्पादनलगायत विषयमाथि विस्तृत छलफल र संवाद भएको थियो । रासस