नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन गरेको जानकारी दिएको छ।
योसँगै कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइन अब नयाँ प्रविधिमा प्रतिस्थापन भएका छन् । आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने टेलिकमको विश्वस छ। यस प्रविधि अन्तर्गतका सबै लाइनबाट अब ग्राहकको मागअनुरुप एडीएसएल ९ब्म्क्ी० लाइन उपलब्ध गराउन सम्भव हुने टेलिकमले जानकारी दिएको छ। साथै भविष्यमा ल्यान्डलाइन सेवामामै आईपीटीभी, भिडियो अन डिमान्ड जस्ता सेवा समेत प्रदान गर्न सकिनेगरी प्रविधि व्यवस्थापन गरिएको टेलिकमले बताएको छ।
नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ । गत असार २३ गते नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरेका थिए। साथै उनले पुरानोे टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको शुभारम्भ गरेका थिए। ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन प्रतिस्थापित भइसकेका छन्।
आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन र आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने टेलिकमको योजना रहेको छ। बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आइपी बेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने टेलिकमको लक्ष्य रहेको छ।