लामो दुरीमा चल्ने बसलाई मध्यनजर गर्दै साझाले वाइफाई सेवाको थालनी गरेको छ। बागलुङ जाने साझा बसमा चढ्नेले निशुल्क वाईफाई चलाउन थालेका छन्। नेपाल टेलिकमसितको सहकार्यमा साझाले उक्त सेवा संचालनमा ल्याएको हो।
‘एनटी बस इन्टरनेट’ सेवा बागलुङ जाने बसमा संचालनमा आएसँगै यात्रुहरुलाई अव झनै सहजता भएको साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।
उपत्यकाबाहिर हाल बागलुङमा दैनिक दुई वटा बसहरु संचालन हुने गरेको छ। ‘बागलुङ जानेले तथा त्यहाँबाट काठमाडौं फर्कनेले साझाको बसमा यात्रा गर्दा निशुल्क वाइफाईमार्फत फेसबुक चलाउन सक्ने र भिडियोहरु हेर्न पाउँछन्’ पाण्डेले भने। उपत्यकाभित्र संचालन हुने छोटो दुरीका बसमा भने अहिले तत्काल यो सेवा संचालनमा नल्याइने उनले बताए।
प्रत्येक बसमा जिपिएस ट्रयाकिङ सिस्टमसाझाले प्रत्येक बसमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गर्ने भएको छ। यसबाट साझाका बस कहाँ गुडेको छ भनेर यात्रुले थाहा पाउन सक्छन्।
साझा र रामलक्ष्मण इनोभेसन प्रालिबीच सिस्टम जडान सम्वन्धमा आज सम्झौता भएको छ। ‘जिपिएस ट्रयाकिङ सिस्टमको सुरुआत भइसकेको छ, जिपिएसमार्फत अब साझा बस पनि यात्रुहरुले भेटाउन सक्छन्’ उनले भने। जिपिएसमार्फत यात्रुहरुले बस चलिरहेको स्थान पत्ता लगाउन सक्छन् र सोअनुसार आफूलाई चढ्न तथा झर्नका लागि तयार अवस्थामा राख्न सक्छन्।
एक महिनापछि साझाले ‘मेरो साझा’ नामको एप संचालनमा ल्याउने भएको छ। सो एप संचालनमा आइसकेपछि मोबाइलमा डाउनलोड गरेर यात्रुहरुले साझाको कुन बस कहाँ चलिरहेको छ भन्ने कुरा हेर्न सक्नेछन्। जसले गर्दा बस कुर्नुपर्ने यात्रुहरुलाई सहजता मिल्ने साझाको विश्वास छ।
एप संचालनमा आइसकेपछि आफू कुरेको ठाउँमा बस कतिखेर आउँछ भन्ने अनुमान लगाउन सजिलो हुने र यसले यात्रुहरुको समय बचत हुने कामु कार्यकारी अधिकृत पाण्डेले बताए।
साझाको टिकट देखाएपछि काभ्रेको साँघा फन पार्कमा १ सय रुपैयाँ छुटयसैबीच साझा बसको टिकट देखाएपछि काभ्रेको साँघा पार्क छिर्नेले एक सय रुपैयाँ छुट पाउने भएका छन्। पार्कले हाल लिँदै आएको रकममा साझाको टिकट देखाउँदा १ सय रुपैयाँ छुट हुनेगरी सम्झौता भएको पाण्डेले जानकारी दिए।
हाल त्यहाँ छिर्नेले साढे ६ सय रुपैयाँ शुल्क तिर्नुपर्दछ। काभ्रेको साँघासम्म साझाको बस समेत जाने गरेको छ।