एनसेलले गएको एक हप्ता अर्थात साउन २४ देखि ३० गतेसम्म बाढी प्रभावित तथा उच्च जोखिम क्षेत्रमा रहेका ग्राहकलाई ६० लाख भन्दा बढी पूर्वसूचना पठाएको छ।
विगत तीन दिन शनिबार, आइतबार र सोमबारमा मात्र ५० लाख भन्दा बढी त्यस्ता एसएमएस एनसेलले पश्चिम राप्ति, बबई, पुर्व राप्ति नदी रजैया, बागमति (रौतहट र सर्लाही) को तटीय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकहरुलाई पठाएको थियो।
पश्चिम राप्ति नदीमा कुसुम जल सतह खतराको तह भन्दा माथि पुगेकोले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा जान एसएमएसमार्फत अनुरोध गरिएको थियो। त्यस्तै बर्दियाको बबई तटीय क्षेत्र, बागमति नदीको तल्लो तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब माथि पुग्दै गर्दा सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।
नदीमा जलसहतको स्थिति अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गरेको हो।
बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ। पानीको सतह खतराको विन्दुभन्दा माथि गएको एसएमएस पाएपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा जान मौका पाउँछन्।
पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउँदछन्। नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएसहरु पठाउने गरिन्छ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गतवर्ष जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरको थियो र सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी का लागि एसएमएस प्रदान गर्दै आएको छ।
समझदारीपत्र अनुसार वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना जाने गर्दछ।