सामसङले फ्ल्यागसिप फोन ग्यालेक्सी ‘नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रम माझ सार्वजनिक गरिएको यो फोनको मूल्य एक लाख २ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।
सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले नोट ८ नेपालमा उपलब्ध अन्य फोनभन्दा निकै उत्कृष्ट रहेको दाबी गर्दै ग्राहकको धेरै फिचर्स खोज्ने सपना यसले पूरा गर्ने बताए।
फोनमा के छन् फिचर?फोनमा ६.३ इन्चको क्वाडकोर एचडी सुपर एमोलेड डिस्प्ले इन्फिनिटी डिस्प्ले छ। पछाडि दुई क्यामरा भएको यो सामसङको पहिलो स्मार्टफोन हो। नोट एटमा अपेचर १.७ लेन्स भएको १२ मेगापिक्सेल र अपेचर २.४ लेन्स भएको अर्को १२ मेगापिक्सेलको गरी पछाडि दुई क्यामरा छन्। सेल्फीका लागि अपेचर १.७ लेन्स भएको ८ मेगापिक्सेलको क्यामरा छ।
फोटो र भिडियोको लागि ओआइएस प्रविधि भएको यसका क्यामराबाट वाइड एंगल र टेलिफोटो दुबै खिच्न सकिनेछ।
त्यस्तै डुअल क्याप्चर मोडको माध्यमले एकैपटकमा क्लोजअप फोटो र टेलिफोटो लिन सकिन्छ। यसका क्यामराले धेरै वा कम प्रकाश भएको अवस्थामा पनि चुस्त र सफा फोटो लिन सकिने कम्पनीको दावी छ।
फोनमा ‘एप पेयर’ को सुविधा छ जसले दुईवटा एप एकैपटक चलाउन सक्ने सुविधा दिन्छ। यसमा भिडियो हेर्दै गरेको बेला पनि साथीलाई म्यासेज वा फोन गर्न सकिन्छ।
फोनमा ‘एस पेन’ छ जसको मद्धतले स्क्रिनमा लेखेरै अधिकांश फिचरको सेवा लिन सकिनेछ।
एस पेनले जिआइएफ सपोर्ट गर्नुका साथै ट्रान्सलेटर र कन्भर्टरको समेत काम गर्छ। यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा तथा विदेशी मुद्राको विनिमिय दर पनि रुपपान्तरण गर्न सकिन्छ।
यसमा भएको ६ जिबि ¥याम तथा २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न काम गर्न सकिन्छ।
फोनमा १.७ क्वाडकोर प्रोसेसर तथा एन्ड्रोइड ७.१ को अपरेटिङ सिस्टम छ।
योबाहेक फोनमा फिंगरप्रिन्ट, आइरिस स्क्यानर, ब्यारोमिटर, जिओ म्यागनेटिक सेन्सर, हर्ट रेट सेन्सर, प्रेसर सेन्सर, बिक्सबी, सामसङ डेक्स लगायतका फिचर्स समावेश छन्।
फोन असोज २४ गतेदेखि मिडनाइट ब्ल्याक (कालो) र म्यापल गोल्ड (सुनौलो) रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसको बुकिङ भने सोमबारबाटै सुरु भइसकेको छ। असोज २ गतेबाट असोज २० गतेभित्रमा नेपालभरका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरबाट फोन बुकिङ गर्न सकिने छ। अग्रिम बुकिङ गर्न ग्राहकले ५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।
ग्राहकले फोन किन्दा छुट तथा अफर पनि पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले प्रतिमहिना २ जिबिका दरले ८ महिनासम्म एनसेलको १६ जिबि फोरजी डाटा प्राप्त गर्न सक्नेछन्। यसका साथै ८ महिनाभित्र सेट फुटेमा शिखर इन्स्युरेन्ससँगको सहकार्यमा बीमा सुरक्षा पनि गरिएको छ।
फोन किन्न सहज होस् भनेर विभिन्न बंैंकहरु मार्फत् सहज किस्ताबन्दी योजना उपलब्ध गराइएको पनि कम्पनीले जानकारी दिएको छ।
तस्बीरहरु: नारायण महर्जन/ सेताेपाटी