नेपाल वायु सेवा संचालक संघले हेलिकप्टरमा दुईजना पाइलट राख्नुपर्ने निर्णय सम्भव नहुने बताएको छ।
संघका प्रवक्ता योग राज कँडेलले एक इन्जिन भएका हरेक व्यवसायिक उडानमा दुईजना पाइलट राख्ने निर्णय जायज नभएको बताएका हुन्। भिआइपी र परिस्थिती अनुसारका कतिपय उडानमा दुई जना पाइलट राख्न सकिएपनि व्यवसायिक उडानमा यो नियम अनिवार्य गर्न नहुने उनले बताए।
‘एक इन्जिन भएका हेलिकप्टरमा दुई जना पाइलट राखिदियो भने यात्रु बोक्ने कता? यात्रु छिर्ने कता?’ प्रवक्ता कँडेलले सेतोपाटीसँग भने, ‘त्यति मात्र होइन, कम्पनीको आम्दानी कम हुन्छ। पाइलटको तलबमा ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ।’
उनकाअनुसार ठूला ९ सिटभन्दा माथिका हेलिकप्टर (मल्टि इन्जिन) भएकाको हकमा दुई जना पाइलट राख्न सकिन्छ। यस्ता हेलिकप्टरले अहिले पनि कतिपय उडानमा दुई जना पाइलट हुने गरेको छ।
हाल नेपालमा एक इन्जिन हेलिकप्टर चालक १० जना विदेशी र २६ जना नेपाली गरी जम्मा ३७ जना छन्। त्यस्तै एक इन्जिन भएका २८ वटा हेलिकप्टरले व्यवसायिक उडान गरिरहेका छन्।
उनकाअनुसार प्रत्येक हेलिकप्टरमा दुई जना पाइलट राख्नुपरेमा पाइलटको संख्या पुग्दैन। ‘पाइलट आजको भोलि उत्पादन हुने पनि होइन। पाइलट बनेर कमान्ड गर्नका लागि कम्तीमा पाँचदेखि सात वर्ष लाग्छ। पाइलटको संख्या पनि अपुग छ’ उनले भने।
मंगलबार नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने प्रस्ताव राखेको थियो। यसका लागि प्राधिकरणले पाँच जनाको एक सदस्यीय टोली गठन गरिसकेको छ। तर यो निर्णयप्रति आपत्ति जनाउँदै संघले बुधबार नै यो विषयमा छलफल गर्दैछ।