वायु सेवा संचालक संघले नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलको इनरूट मौसम सम्बन्धी जानकारी समयमै उपलब्ध गराउन माग गरेको छ। संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
प्राधिकरणले मंगलबार वायुसेवा कम्पनीहरूलाई इनरूटमा मौसम सफा भएपछि मात्रै उडान अनुमति दिने निर्णय गरेको थियो। यसअघि प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसम सम्बन्धमा एयरलाइन्स आफैंले जाने कि नजाने भनेर निर्णय लिन्थे।
तर उडान हुने गन्तव्यहरूको मौसम राम्रो भएपनि इनरूटको मौसम सम्बन्धी जानकारी कसले दिने भन्नेबारे अन्यौल हुँदा उडान नै प्रभावित बनेपछि वायु सेवा कम्पनीले प्राधिकरणलाई अनुरोध गरेका हुन्।
नेपालमा उड्डयन सुरक्षाको स्तरवृद्धि गर्ने कार्यमा वायुसेवाहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकायो) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरेका मापदण्डहरूको पालना गर्दै आइरहेको छ। फलस्वरूप अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट हालै सम्पन्न ‘सेफ्टी अडिट’ मा नेपाल उड्डयन सुरक्षा प्रावधानहरूको कार्यान्वयन स्थिति विश्वको औसतभन्दा माथि रहेको छ।
नेपालमा मौसम सम्बन्धी जानकारी दिने जिम्मेवारी जल तथा मौसम विज्ञान विभागको हो। हाल मौसम विज्ञान विभागबाट काठमाडौं तथा भैरहवामा आधा/आधा घण्टामा र अन्य आन्तरिक उडान सुविधा उपलब्ध आठ वटा विमानस्थलहरूमा १/१ घण्टामा मौसम सम्बन्धी जानकारी दिने गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलले प्रत्येक ६/६ घण्टामा टर्मिनल एरिया जारी गर्ने गरेको छ।
इनरूट मौसमको हकमा अन्तर्राष्ट्रिय उडानका लागि १८ हजार मिटर माथिका मौसमी जानकारी गराउने गरिएको छ। आन्तरिक उडानका लागि इनरूट मौसम हाल जारी गर्ने गरिएको छैन। आन्तरिक उडान हुने सबै विमानस्थलहरूका इनरूट मौसम उपलब्ध हुन सके उड्डयन सुरक्षाको स्थिति अझ सुदृढ हुनेमा दुई मत नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।