सन् २०२२ को अप्रिल महिनाको तुलनामा मेमा नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या घटेको छ।
अध्यागमन विभागको तथ्याङकअनुसार यो संख्या चार हजार सात सय ४३ जनाले घटेको हो। मेमा ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो महिना (अप्रिलमा) ५८ हजार तीन सय ४८ जना पर्यटक भित्रिएका थिए।
यसरी सन् २०२२ का पाँच महिना (जनवरी, फेब्रुअरी, मार्च, अप्रिल र मे) मा गरी एक लाख ९० हजार ६९७ जना विदेशी पर्यटक भित्रिएका छन्। जसमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।
विभागको तथ्याङअनुसार भारतबाट मेमा मात्र २२ हजार ६६२ जना पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार २७४, बंगलादेशबाट ३ हजार २६२, बेलायतबाट २ हजार ४५१, अष्ट्रेलियाबाट १ हजार ६०६ जना पर्यटक भित्रिएका छन्।
कोरोना माहामारीअघि नेपाल सबैभन्दा धेरै पर्यटक चिनबाट भित्रने गर्थ्यो। तर अझै पनि अहिले चीनबाट आउने पर्यटकको संख्या बढ्न सकेको छैन। नेपाल–चीनबीच सिधा हवाइ सेवा सञ्चालनमा आउन नसक्दा चीनबाट आउने पर्यटकको संख्या बढ्न नसकेको हो। महामारीका बेला संक्रमणको जोखिम कम गर्नका लागि व्यवसायिक उडानमा प्रतिबन्ध फुकुँवा नहुँदा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ९६ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार माहामारीअघि चीनबाट मात्र मासिक ३० हजारको हाराहारीमा पर्यटक नेपाल भ्रमणमा आउने गरेका थिए। तर सन् २०२२ को मेमा चीनबाट जम्मा ३८८ जना पर्यटक नेपाल आएका छन्। यसअघि अप्रिलमा २८१ जना, मार्चमा ४३१ जना, फेब्रुअरीमा २०५ जना र जनवरीमा ३२१ जना आएका थिए। सन् २०१९ लाई आधार मानेर हेर्ने हो भने चीन ४ प्रतिशतले मात्र रिकभर भएको छ।
‘कोरोना माहामारीपछि प्राय धेरै मुलुकमा रिकभर भइरहेको छ। यदी नेपाल-चीन खुलेको भए ९० प्रतिशत रिकभर भइसक्थ्यो,’ बोर्डका निर्देशक मणिराजले सेतोपाटीसँग भने।
बोर्डले अहिले बंगलादेश र भारतीय पर्यटकलाई मध्यनजगर गरिरहेको छ। सन् २०१९ को तुलनामा बंगलादेशबाट मात्रै डेढ सय प्रतिशतले पर्यटक आगमनको संख्या वृद्धि भएको उनले बताए।