विमानस्थलमा वन्यजन्तुका कारण हवाइ सुरक्षामा चुनौती र जटिलता थपिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान छानबिन समितिको प्रतिवेदनअनुसार पछिल्ला वर्ष चराचुरुंगी र जनावरका कारण हवाइ सेवा असुरक्षित बनेको छ।
विमानस्थलमा चराचुरुंगी र वन्यजन्तुका कारण पछिल्ला वर्ष हवाइ घटना/दुर्घटना बढेका छन्। प्रतिवेदनअनुसार गत तीन वर्षमा १५ वटा विमानस्थलमा चराका कारण एक सय २३ वटा हवाइ घटना भएका छन्। जसमा सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो घटना भएको देखिन्छ।
उक्त विमानस्थलमा चराचुरुंगीका कारण सन् २०१९ मा १९ वटा घटना भएको थियो भने सन् २०२० मा ९ वटा र सन् २०२१ मा २१ वटा घटना भएको छ। यही अवधिमा २ पटक जनावरसँग ठोक्किएर हवाइ घटना भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, दुर्घटनाको दोस्रोमा पोखरा विमानस्थल रहेको छ। यो विमानस्थलमा चराका कारण तीन वर्षमा ९ पटक घटना भएका छन्। त्यस्तै भैरहवा, भरतपुर, लुक्ला, जनकपुर, विराटनगर, नेपालगञ्ज, बाजुरा, सुर्खेत, चन्द्रगढी, धनगढी, राजविराज, सिमरा र रामेछाप लगायतका विमानस्थलमा चराका कारण हरेक वर्ष हवाइ घटना/दुर्घटना हुने गरेको छ।
सामान्यतया अवतरण र धावनमार्गबाट उड्ने क्रममा वन्यजन्तुसँग ठोक्किने र टेकअफ, ल्यान्डिङका क्रममा चराचुरुंगीका कारण हवाइ जोखिमको सामना गर्नुपर्नेछ।
त्यस्तै, यही अवधिमा जनावरका कारण देशभरका ९ वटा विमानस्थलमा ४४ वटा हवाइ घटना भएका छन्। उक्त समितिले निकालेको प्रतिवेदनअनुसार जनावरका कारण सबैभन्दा धेरै घटना हुनेमा भैरहवा विमानस्थल रहेको छ।
यो विमानस्थलमा जनावरका कारण तीन वर्षमा १३ वटा घटना भएका छन्। त्यस्तैगरी, नेपालगञ्ज विमानस्थलमा ११ वटा, विराटनगर विमानस्थलमा १० वटा घटना घटेका छन्।