नेपाल पर्यटन बोर्डले नेपालमा पहिलो पटक महिलाका लागि जलयात्रा तालिम सुरू गरेको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा बोर्डले जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका बलेफिमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो। नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा) ले विभिन्न जिल्लाका ५३ जना महिलालाई निःशुल्क तालिम दिने बोर्डले जनाएको छ।
तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरूका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको बताए।
सिइओ रेग्मीले यो तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै करिअर बनाउन सकिने समेत बताए। उनले भविष्यमा नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का पोर्टफोलियो म्यानेजर कल्पना सरकारले कोभिड-१९ पछि पर्यटन मजदुरहरू सबैभन्दा समस्यामा परेकाले उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एसटिएलआरपी परियोजना सुरू गरिएको जानकारी दिइन्।
नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले तालिमबाट उत्पादित जनशक्तिलाई नाराले रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे।
र्याफ्टिङ तालिमका प्रशिक्षक रेवती प्रसाद उपाध्यायले भोटेकोशी र्याफ्टिङका लागि संसार कै उत्कृष्ट ७ औं नम्बरमा पर्न सफल नदी भएको र तालिमबाट जनशक्ति विकास हुनेमा विश्वस्त रहेको बताए।
परियोजनाअन्तर्गत हालसम्म विभिन्न गाउँपालिकाहरूको सहकार्यमा करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिइसकेको छ।