नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न नयाँ नियमहरू लागू गरेको छ।
क्यानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ नियमहरू लागू भएकोबारे जानकारी दिएको हो।
तय भएको नयाँ नियमअनुसार अब विमानस्थलमा जहाज र हेलिकप्टर रात्रिकालीन बिसान (पार्किङ) का लागि अनुमति दिँदै पार्किङ गरिएको विमानस्थलबाटै पहिलो उडान गर्नुपर्ने छ। हवाइजहाज कम्पनीले असार १३ गते र हेलिकप्टरले ७ गतेबाट तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नु पर्ने भएको हो।
त्यस्तै हेलिकप्टरका लागि दुई जना पाइलट राख्नुपर्ने प्रावधान पनि क्यानले गरेको छ।
सरकारले तोकेका भिआइपी उडानहरूमा र स्वचालित प्रणालीले तोकेअनुसार हेलिकप्टरमा दुई जना पाइलट राख्न अनिवार्य गराइएको छ।
कम्पनीले प्राधिकरणले तोकिदिएको संख्यामा आउँदो तीन वर्षभित्र स्वदेशी पाइलट तयार गर्नुपर्ने प्रावधान बनाएको हो।
हेलिकोटर उडानअघि नै सुरक्षा जोखिम मूल्यांकन र न्यूनीकरणका लागि स्वचालित विद्युतीय प्रणाली संचालनमा ल्याउने योजना रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'यसमार्फत मौसमी अवस्था, उडान अवधि, पाइलटको अनुभव, भौगोलिक अवस्था लगायतबारे पूर्वजानकारी लिन सकिन्छ,' विज्ञप्तिमा भनिएकाे छ।