नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको क्षमता अनुसार बाहिर पठाउन निर्देशन दिएकाे जनाएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक विमानको पार्किङ क्षमता छ। तर अहिले विमानस्थलमा ३४ वटा जहाज पार्किङ भइरहेका छन्।
'अन्तर्राष्ट्रिय २३ वटा जाहाज पार्किङ गर्न मिल्ने गरी निर्माणको काम भइरहेको छ। डेढ वर्षभित्र काम सम्पन्न हुन्छ,' विमानस्थल आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठले भने, 'त्यसपछि अहिले तोकेको आधार बेस हेरफेर गर्न पनि सकिन्छ।'
यसअघि क्यानले गत आइतबार विमानस्थल व्यवस्थापन र सुदृढीकरणका लागि जहाज र हेलिकप्टरहरूले तोकिएको विमानस्थल आधारबाट पहिलो उडान गर्नुपर्ने बताएको थियो। त्यसलगत्तै सोमबार क्यानले कुन विमानले कुन विमानस्थलमा पुगेर रात्रि पार्किङ गर्ने भनेर वायु सेवा कम्पनीलाई निर्देशन सहितको पत्र पठाएको थियो।
क्यानले ५५ वटा जहाज र हेलिकप्टरहरूलाई दस वटा विमानस्थलमा रात्रि पार्किङका लागि तोकेको छ। जसमा चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने हुन्छ।
यो निर्णयका लागि सम्बन्धित विमानस्थल तयार रहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए।
यद्यपि वायु सेवा कम्पनीहरूले सञ्चालनमा रहेका र नरहेका सबै जहाज ठाउँ ओगटेर राखेको समेत बताए।
यही विषयमा बोल्दै अधिकारीले भने, 'ट्याम्पु जसरी पार्किङ गर्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन। यो स्ट्यान्डर्ड एयरपोर्ट हो।'
काठमाडौं बाहिरका विमानस्थल पनि सुरक्षित रहेको र हवाई क्षेत्रको विकासका लागि यो अनिवार्य रहेको क्यानका महानिर्देशक अधिकारीले बताए। यद्यपि क्यानको यो निर्णयप्रति वायु सेवा कम्पनीहरूले विरोध गरेका छन्। वायु सेवा सञ्चालक संघले मंगलबार प्रेस सम्मेलन गर्दै भोलि (बुधबार)बाट सबै उडान बन्द गर्ने निर्णय गरिसकेको छ।
सम्बन्धित समाचारः भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा (भिडिओ)
५५ वटा जहाज र हेलिकप्टर राती पार्किङका लागि काठमाडौं बाहिर जानुपर्ने