आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएसँगै बुधबार बिहानैबाट उडान सुरू भएको छ।
उडान ठप्प पारेर आन्दोलनको घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्न सहमत भएका हुन्।
आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिए।
यति एयर र तारा एयरले बिहानैदेखि आफ्नो सेवा सुरू गरिसकेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यता बुद्ध एयरले बिहान ११ बजेबाट आन्तरिक उडान नियमित सञ्चालन गर्ने भउको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बुद्धएयरले हिजै आफ्नो नियमित उडान ११ बजेबाट गर्ने निर्णय गरेको थियो।
सरकार र वायुसेवा सञ्चालक सङ्घबीच गए राति भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। अन्य मागका सम्बन्मा आज पुनः वार्ता गरेर टुङ्गोमा पुग्ने जनाइएको छ।
प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गए राति वार्ता भएको थियो।
आज मध्याह्न पुनः वार्तामा बसी अन्य मागका विषयमा टुङगो लगाइने बताइएको छ। प्राधिकरणले यही असार ५ गते गरेको निर्णय फिर्तालिनुपर्ने माग गर्दै सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो।