नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ।
शुक्रबार आयोजित संघको कार्यक्रममा निर्वाचन अधिकृत गोकुल बुर्लाकोटीले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।
गत जेठ २७ गते सम्पन्न भएको निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि पुरानो कार्यसमितिका सदस्यलाई बिदाइ गरिएको छ भने नयाँ कार्यसमितिको स्वागत पनि गरिएको छ।
बिदाइ तथा स्वागत कार्यक्रमको प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल थिए।
दाहालको रोहबरमा निवर्तमान अध्यक्ष सन्तवीर लामाले आफ्नो कार्यभार नवनिर्वाचित अध्यक्ष निमानुरु शेर्पालाई हस्तान्तरण गरे।
यसैगरी, संघका निवर्तमान महासचिव कुलबहादुर गुरूङले नवनिर्वाचित महासचिव मोहन लम्साललाई आफ्नो पदभार हस्तान्तरण गरेका छन्।
यता अन्य पदाधिकारीहरूले पनि नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरे।
पद हस्तान्तरण तथा ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनलाई सरकारले आम्दानीको स्रोतको रूपमा लिए पनि सो अनुसारले प्रवर्द्धन गर्न नसकेको बताएका छन्।
नेपालको हिमाललाई धेरैभन्दा धेरै आम्दानीको स्रोत बनाउन संघले पनि पहल गर्ने बताए।
संघमा आबद्ध सदस्य र पर्वतारोहणमा आबद्ध जनशक्तिलाई दक्ष र अब्बल बनाउन आफूले पहल गर्ने पनि उनले बताए।
पेशाकर्मी तथा मजदुरको हकहितको लागि अक्षय कोष निर्माण गर्ने पनि उनले बताए।