वायु सेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य समायोजन गर्न सरकारलाई माग गरेका छन्।
हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर नेपाल आयल निगमले १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजन गर्न कम्पनीहरूले माग गरेका हुन्।
वायु सेवा संचालक संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै हवाई तथा पर्यटन उद्योगलाई धरासयी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुन जरुरी रहेको बताएको छ।
कोरोनाको मारमा परेका वायु सेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकहरूले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको विज्ञप्तीमा उल्लेख छ।
‘नेपाल आयल निगम संचालक समितिको शनिबार बसेको बैठकको निर्णयले पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँले घटाइ १७९ रुपैयाँ र डिजेल मट्टितेलको साविकको बिक्री मूल्यमा २९ रुपैयाँले घटाइ १६३ कायम गरिएको र हवाई इन्धनको खुद्रा मूल्य भने हाललाई यथावत नै राख्ने गरी निगमबाट भएको मूल्य समायोजन प्रति संघको ध्यानाकर्षण भएको छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।