नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक टर्मिनल तर्फको निःशुल्क सटल बस बन्द नभएको बताएको छ।
सोमबार सामाजिक सञ्जालमा सो सटल बस सेवा हटाइएको भन्दै चर्चा भएसँगै प्राधिकरणले यस्तो बताएको हो। प्राधिकरणले सटल बस सेवा यथावत रहेको जानकारी दिएको छ।
प्राधिकरणले ट्विटरमा भनेको छ, 'सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक टर्मिनल तर्फको फ्री सटल बस सर्भिस हटाएको भ्रामक समाचार आएको हुँदा सो सेवा यथावत रहेको व्यहोरा जानकारी गराउँदछौ।'
विमानस्थलले गत मंसिर १५ गतेदेखि यो सेवा सुरु गरेको थियो। यात्रुको सुविधाका लागि विमानस्थलको टर्मिनल भवनदेखि गोल्डेन गेट (विमानस्थल बाहिर रहेको गेट) सम्म निःशुल्क बसको प्रयोग भइरहेको छ।