विशेष गरी वसन्त र शरद ऋतु हिमाल आरोहणका लागि उपयुक्त सिजन हुन्। यी दुवै सिजनमा हिमाल चढ्न र हेर्नकै लागि खुम्बु क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरू पुग्छन्। तर जब सिजन सकिन्छ, यी क्षेत्रमा पर्यटकको चहलपहल खासै देखिँदैन।
तर अब मनसुनको समयमा पनि जंगली च्याउ पर्यटनले यी क्षेत्रमा चहलपहल बढाउन सकिने भएको छ। विशेषतः मनसुनमा पद यात्रामा जानेहरूले जंगलमा उम्रने विभिन्न प्रजातीका च्याउ हेर्न पाउने भएका हुन्।
खुम्बु क्षेत्र अब ट्रेकिङ र हिमाली पर्यटन क्षेत्रसँगै च्याउ पर्यटनको रूपमा पनि विकसित गर्न सकिने ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसिप्लिनरी स्टडिज काठमाडौंका डा. शिव देवकोटाले बताए।
‘हिमाली क्षेत्रमा हिमाल चढ्न र हेर्न विभिन्न सिजनमा फरक वातावरणमा रमाउन पर्यटकहरू पुग्छन्। मनसुनमा भने सुनसान जस्तै हुन्छ,’ डा. देवकोटा भन्छन्, ‘तर च्याउ पर्यटनको विकास गर्न सकियो भने च्याउ पारखीहरूलाई नेपाल भित्र्याउन सकिन्छ।’
गत जुन १० देखि जुलाई २ सम्म डा. देवकोटासहित क्लार्क विश्वविद्यालयका डा. ब्रिट बनयार्ड, थोमस रोहल, अमेरिका र मेक्सिकोका वैज्ञानिकहरू र शेर्पा गाइडहरू खुम्बु क्षेत्रमा च्याउ पर्यटन अध्ययन भ्रमणमा गएका थिए। नौ जनाको उक्त टोलीले अध्ययन भ्रमणपछि जंगली पर्यटन च्याउको सम्भावना देखिएको बताएका हुन्।
उनीहरूले सोलुखुम्बुको सल्लेरी हुँदै सगरमाथा आधार शिविरसम्म डेढ सयभन्दा बढी प्रजातिका च्याउ भेटेको बताएका छन्। उक्त क्षेत्रमा च्याउ पर्यटकको रूपमा गएको टोलीले एक सय ५६ प्रजातिको च्याउ भेटिएको डा. देवकोटाले बताए।
डा. देवकोटाका अनुसार ५ हजार १ सय २३ मिटर उचाइमा पनि च्याउ प्रजातिको अभिलेख गरेको छ। अमेरिकी माइक्रोलोजिस्ट डा.ब्रिट बर्नगार्ड सगरमाथा राष्ट्रिय निकुञ्जमा थप जैविक विविधता हुन सक्ने भन्दै नयाँ प्रजातिका च्याउ फेला पर्न सक्ने बताए। उनले च्याउ पर्यटनको सुरुवातसँगै यसको अनुसन्धान गर्न सुझाव दिएका छन्।
गत साता पत्रकार सम्मेलन गर्दै भेटिएका सबै च्याउ प्रजातिबारे डा. देवकोटाले तस्वीरसहित वर्णन गरे।
'खुम्बु क्षेत्रको बाटोमा मात्रै ती च्याउ भेट्टाएका हौं,' उनले भने। यससँगै हाल उनी सरकारी तथा अन्य विभिन्न निकायमा जंगली च्याउ पर्यटनको सम्भावनाबारे बुझाइरहेका छन्।
अबको पर्यटन प्रवर्द्धनमा च्याउ पर्यटनको सम्भावना रहेको डा. शिव देवकोटाले दाबी छ। उनले नेपालमा पर्यटन च्याउको प्रचुर सम्भावाना रहेको र जंगली च्याउले पनि नेपालमा विश्वका पर्यटकलाई आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरेका हुन्।
१७ वर्षदेखि च्याउका क्षेत्रमा काम गर्दै आएका डा. देवकोटाले विभिन्न देशका पर्यटन च्याउबारे अध्ययन-अनुसन्धान गरेका छन्। ल्याटिन अमेरिका, चीन, युरोपियन देशहरूमा पर्यटन च्याउको विकास भइसकेको तर नेपालमा भने अझैं यसलाई बुझ्न नसकेको उनको भनाइ छ।
'चीनले त झन एउटा गाउँ नै च्याउ आकारको बनाएको छ। त्यसकारण नेपालमा पनि पर्यटन च्याउको सम्भावाना धेरै छ,' डा. देवकोटा भन्छन्, 'पर्यटकहरू च्याउ हेर्नकै लागि नेपाल आउँदैनन् तर पदयात्रा गर्दैगर्दा विभिन्न प्रजातिका च्याउ अवलोकन गर्न सक्छन्।'
जंगली च्याउ पर्यटनको सम्भावना अध्ययन गरेर यसलाई प्रवर्द्धन र विकास गर्न सकेमा समग्र पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाइ छ।