अफिसमा पुगेर झोला राख्नेबित्तिकै किरण तल क्यान्टिनतिर लाग्यो। अफिसमा कामको चाप जति नै होस्, सबैभन्दा पहिले ऊ क्यान्टिन नै जान्थ्यो। ऊ मात्र होइन, अफिसका लगभग सबै साथी त्यसै गर्थे- मानौं चिया-चुरोट नखाइकन कोही काम नै गर्न सक्दैनथे। किरण आज खुसी थियो। ऊ काम गर्ने पत्रिकामा आज उसको स्टोरी छापिएको थियो, बाइलाइनसहित। हरेक चोटी आफ्नो स्टोरी छापिँदा ऊ आफूले आफैंलाई अलि बढी इज्जतले हेर्थ्यो। आफ्नो भाउ बढेजस्तो लाग्थ्यो उसलाई। स्टोरी छापिएको दिन जब ऊ अफिस जानका लागि घरबाट बाहिर निस्किन्थ्यो, उसलाई लाग्थ्यो, बाटोमा हिंडिराखेका सबै मानिसले उसको स्टोरी पढेका छन्। अझ लाग्थ्यो- अब यी सबै मकहाँ आएर भन्नेछन्
'वाह! कस्तो राम्रो लेख्नुभएको'
'वाट एन अमेजिङ स्टोरी!'
'आई लभ्ड इट!'
तर त्यस्तो कहिले हुँदैनथ्यो। अफिसका दुई-चार जना साथीको तारिफभन्दा बढी अरु केही आउँदैनथ्यो। ती साथी पनि प्राय: आफ्नै डिपार्टमेन्टका हुन्थे। कहिले-कहिले किरणलाई लाग्थ्यो, सायद यी साथीहरुले पनि स्टोरी पढेका छैनन्। खालि छापिएको देखेर मात्रै 'राम्रो छ' भनेका हुन्।
तर जे भएपनि आज ऊ खुसी थियो। आज उसको स्टोरी छापिएको थियो।
क्यान्टिन पुग्न नपाउदै दिपेशको फोन आयो। दिपेश उसको एकदम मिल्ने साथी।
'ओई! कहाँ छस्?'
'अफिस नि मुला, कहाँ हुनु!'
'दस मिनेटमा त्यो हामी सधैं जाने क्यान्टिनमा आइज, चिया खाम्ला।'
'म क्यान्टिनमै छु। '
'ल त्यसो भए मलाई नि एक कप चिया भन्दिराख। म आइहालें। '
'ल ल।'
एकछिनमै दिपेश आइपुग्यो।
'के छ यार?' हात मिलाउँदै उसले किरणलाई सोध्यो।
'ठिकै छ यार। भर्खर अफिस आएको।'
'मस्ती छ नि! अफिस आउने बित्तिकै क्यान्टिन।'
'के को मस्ती? अहिले माथि गएपछि पेलान भैहाल्छ!'
'अनि सुन्न, आजको मेरो स्टोरी पढिस्?' किरणले अलि उत्साहित हुँदै सोध्यो।
'बिहान नौ बजेदेखि दौडिएको दौडियै छु। यो साला मार्केटिङको काम नै एस्तो के! पत्रिका छुन पनि पाएको छैन यार।'
'साँझ घर गएर फुर्सदमा पढ न त।'
'त्यो त स्योर नि। एनी वे कंग्र्याचुलेसन्स!'
'पढ्दै नपढी 'कंग्र्याचुलेसन्स' रे फेरि!'
'तँ राम्रै लेख्छस नि मुला। त्यति त म नपढी पनि भन्न सक्छु।'
'ल ल धेरै गफ नदे अब।'
'अनि के त्यै अंग्रेजीमा हो फेरि?'
'मैले कैले नेपालीमा लेखेको छु र!'
'साँच्चै, तँ नेपालीमा किन लेख्दैनस्?'
'खोइ यार, अंग्रेजी पत्रिकामै काम गरिन्छ। त्यही सजिलो अनि न्याचुरल लाग्छ। '
'ल भयो, धेरै नखोक अब। पढ्नचाहिँ नेपाली साहित्य खोजी खोजी पढ्छस् अनि फेरि अंग्रेजी न्याचुरल लाग्छ रे।'
'पढ्ने एउटा कुरा हो, लेख्ने अर्को कुरा हो नि यार।'
'तैंले जे भने पनि, नेपाली त हाम्रो मातृभाषा हो नि।आफ्नो मातृभाषामा जोसुकैले पनि लेख्न सक्छ। राम्रो लेख्न सक्ला, नसक्ला त्यो बेग्लै कुरा हो।'
'कुरा त ठीकै हो। '
'ल तेरो नेपाली स्टोरी छापिएको दिन तँलाई सबैभन्दा पहिले बधाई दिने मान्छे मै हुनेछु।'
'जति दौडिन परे पनि?'
'हो नि बे। पर्यो भने दौडिँदै पनि पढम्ला नि!'
...
राति भैसक्दा पनि दिपेशले दिउँसो भनेको कुरा किरणको मनमा खेलिरह्यो। उसले सोच्यो- हुन पनि हो। एकचोटि कोसिश त गर्नै पर्यो। जे भए पनि बच्चादेखि नै सुन्दै, बोल्दै अनि कक्षा दससम्म त लेख्दै पनि आएको भाषा। एउटा स्टोरी लेख्न त कसो नसकिएला र!
दिपेशले भनेजस्तै उसको समकालीन नेपाली साहित्यमा गहिरै रुचि थियो। आफूलाई मन पर्ने लेखकका पुस्तक ऊ खोजी-खोजी पढ्थ्यो। पत्रिकामा छापिने फिचर पनि खुब रहरले पढ्थ्यो। तर एउटा कुरा थियो, जुन उसले कसैलाई पनि भनेको थिएन। मिल्ने नै साथी भए पनि दिपेशलाई पनि भनेको थिएन। अरुले राम्रो लेखेको देख्दा, पढ्दा उसलाई 'इन्फेरिओरिटी कम्प्लेक्स' हुन्थ्यो। उसलाई लाग्थ्यो म ठिकै लेख्छु। राम्रो पनि होइन, नराम्रो पनि होइन। औषत। तर जब ऊ कुनै राम्रो साहित्य पढ्थ्यो, उसलाई आफ्नो स्तर थाहा भएको अनुभव हुन्थ्यो। हो उसलाई थाहा थियो- तुलना गर्नु बेकारको काम हो। तर त्यो केवल आफैंलाई ढाडस दिने काम मात्र हुन्थ्यो। मन न हो- जति नै भने पनि मान्थेन।
दुई दिनपछि दिपेश फेरि उसको अफिसमा आयो। मार्केटिङको काम भएकोले ऊ दिनभरी बाइकमै हुन्थ्यो, कहिले यता कहिले उता। किरणको अफिस भएतिर आउने काम पर्यो कि ऊ चिया खान साथीकोमा पुगिहाल्थ्यो।
'लेख्न सुरु गरिस् त?' पसले दाइसंग चुरोट मागेर सल्काउँदै उसले सोध्यो।
'कहाँ गर्नु, सोच्दै छु।'
'पहिले खुरुक्क लेख्। सोच्ने काम पछि गर्लास्,' लामो सर्को तानेर बलिरहेको चुरोटको ठूटो उसले किरणतिर बढायो।
किरण केही नबोली धुवाँ उडाउँदै गयो।
'होइन के सोचेको भन्या?'
'केही होइन यार।'
'किन नुन खाएको कुखुराजस्तो टोलाएको त फेरि?'
'केही होइन के। एत्तिकै।'
'धेरै भाउ नखोज अब। भन्न, के हो कुरा?'
एकछिन सोचेपछि किरण बोल्यो, 'खोई यार, लेख्नसक्छु जस्तै लाग्दैन।'
'ह्या... पहिले कोशिश गरेर त हेर।'
'आफैंले चिनिराखेका साथीहरुले राम्रो लेखेको देख्दा एक किसिमको लघुताभाष भएर आउँछ...।'
'के रे? के...भाष?'
'लघुताभाष। '
'के हो त्यो भनेको? मसँग पनि साहित्यिक भाषामा बोल्न थालिस् अब?'
'इन्फेरिओरिटी कम्प्लेक्स' हो के,' किरण फिस्स हाँस्यो।
'ए त्यसो भन् न त।'
'अरुले राम्रो लेखेको देखेर आफू निरुत्साहित त हुनु भएन नि यार,' दिपेशले सम्झाउने कोशिश गर्यो।
'हो हुन त। तर त्यस्तै 'फिल' हुन्छ के।'
'अरुको कुरा छोड, तँ आफू राम्रो लेख्ने प्रयास गर्न।'
किरणले मुन्टो हल्लायो। ऊ हाँस्न खोज्दै थियो, तर उसको अनुहार भने उदास नै थियो।
'एउटा कुरा सोधछु है त,' दिपेशले भन्यो।
'सोध न।'
'तँलाई नारायण गोपाल खुब मन पर्छ होइन?'
'हो। नारायण गोपाल मन नपर्ने को होला र!'
'अनि त्यही बेलाका अरु गायक जस्तै- प्रेमध्वज प्रधान, बच्चु कैलाश, फत्तेमान नि?'
'ती पनि मन पर्छन।'
'नारायण गोपालको गायकीको क्षमता, उनको लोकप्रियता, उनको सर्वस्वीकार्यता- यी सबै हेर्दा, तँलाई लाग्छ, उनका समकालीन गायकहरुले तैंले भने जस्तै 'इन्फेरिओरिटी कम्प्लेक्स' फिल गरे होलान्?'
किरणले एकछिन सोच्यो।
'खोइ यार, गरे होलान् कि!'
'गरे गरेनन् त्यो उनीहरुलाई थाहा होला, तर जे भए पनि उनीहरुले गाउन भने छोडेनन्। आज हेर- के उनीहरुले श्रोताहरुको कम माया पाएका छन् र?'
दिपेशले भन्न खोजेको कुरा किरणले बुझिसकेको थियो। दिपेशजस्तो साथी पाएकोमा ऊ भित्र भित्रै एकदम प्रफुल्लित थियो।
...
नभन्दै ठिक एक हप्तापछि किरणको स्टोरी उसले काम गर्ने मिडिया हाउसको नेपाली पत्रिकामा छापियो। बिहान चिया पिउँदै पत्रिका हेर्दा ऊ आफै दङ्ग पर्यो। मनमनै दिपेशलाई धन्यवाद पनि दियो। सोच्यो- कोशिश गर्यो भने त हुँदो रहेछ नि!
उत्तिनैखेर दिपेशको फोन आयो।
'ल बधाई छ! यो हो नि तरिका।'
'स्टोरी पढिस्?'
'त्यही पढेर त फोन गरेको नि। याद छैन मैले के भनेको थिएँ?'
'थ्यांक यु यार!'
'ल ल थ्यांक यु स्यांक यु छोड अब। बाई द वे, स्टोरी दामी छ। एकदम इमोसनल।'
किरण हाँस्यो मात्र।
'अनि ट्रीट कैले त?' दिपेशले ठट्टा गर्दै सोध्यो।
'केको ट्रीट?'
'स्टोरी छापिएकोमा नि!'
'ए! त्यो त भैहाल्छ नि।'
'कि एत्तिकै टार्ने विचार थियो तेरो साले!'
हाँसोको एक लहर गुञ्जियो।
'बरु तेरो छुट्टी होइन आज?' किरणले सोध्यो।
'आज शनिबार छुट्टि नै त हो नि।'
'ल त्यसो भए 'नाइट स्टे' जाम आज हिँड। सेलिब्रेट गरौँ,' किरणले प्रस्ताव गर्यो।
'अनि तेरो काम नि?' दिपेशलाई थाहा थियो, किरणको 'डे अफ' सोमबार हुन्थ्यो।
'त्यो त म मिलाई हाल्छु नि!'
'ल ठीक छ। कहाँ जाने बरु?'
'जर्सिङपौवा जाम।'
'गज्जब!'
नाइट स्टेका लागि जाने भए पनि उनीहरु चाँडै नै निस्किने विचार गरे। दुई नबज्दै दिपेश मोटरसाइकल लिएर किरणकोमा आइपुग्यो। त्यसपछि दुवै हानिए जर्सिङपौवा तिर।
चाबहिल पुगेपछि दुवै एकछिन रोकिए। किरणले एक हाफ भोड्का झोलामा हाल्यो। त्यसपछि मोटरसाइकल साँखुमा रोकियो, चिया पिउनका लागि। दिनको कुनै पनि बेला होस्, किरणलाई चिया पिइरहनु पर्थ्यो।
तीन बजेर दस मिनेट जाँदा उनीहरु जर्सिङपौवाको एउटा होटलमा पुगे। होटल खाली नै रहेछ। कोठा हेरेर दाम तय गरिसकेपछि दुई कप कफी अर्डर गरेर माथि पाँचौं तल्लाको कौसीमा पुगे। कफी खाइसकेपछि दारु खाने कुरा भयो।
'तैंले अस्ति भनेको कुराले त जादु नै गर्यो नि यार। अहिले त कस्तो आत्मविश्वास भरिएर आउँछ', किरण बोल्यो।
'ल त्यसो भए एउटा राम्रो काम गरिएछ,' दिपेश हाँस्यो।
'बरु एउटा कुरा,' पकेटमा हात घुसाउँदै दिपेशले भन्यो।
'के भन्न?'
चुरोट सल्काएर धुँवा उडाउँदै उसले भन्यो, 'कति यी १०००-१२०० शब्दका स्टोरीमा अल्झिन्छस् के। म सोच्दै थिएँ- अलि ठोस केही लेख् न।'
'ठोस लेख्ने भन्नाले?'
'अलिकति ठोस, अलि 'कम्प्रिहेन्सिभ' के। जस्तो कुनै किताब।'
'त्यही १२०० शब्दका स्टोरी लेख्दा त हावा फुस्किए जस्तो हुन्छ, कहाँबाट किताब लेख्नु!'
'एक-दुई दिनमा लेख्ने हो र? अलि समय लगाएर लेख् न। तँ आखिर राम्रै लेख्छस्।'
'कहाँ यार, किताब लेख्ने धैर्य छैन मसँग।'
'धीरताको कुरा छोडदे। तँसँग भन्ने स्टोरी छ कि छैन त्यो हो मुख्य कुरा। '
'स्टोरी त छ बरु …'
'स्टोरी छ भने ठिक छ। किताब नै लेख्न पर्छ भन्ने छैन नि!'
'मतलब?' अलि आश्चर्यचकित हुँदै किरणले सोध्यो।
'अरु पनि लेख्न सकिन्छन् नि!'
'जस्तो के?'
'फिल्म। '
'फिल्म लेख्ने?'
'फिल्मको स्क्रिप्ट लेख्ने नि! फिल्म भन्दैमा निर्देशन वा निर्माण मात्र हुन्छ र मुला?'
'हैट् मुला! कहाँबाट फिल्म लेख्ने कुरा गर्छ यो?'
दिपेशको कुरा किरणलाई पत्याउन गाह्रो भैरहेको थियो। किताब या फिल्म लेख्ने कुरा त उसले सपनामा पनि सोचेको थिएन। उसका लागि त्यो एउटा सपना भन्दा पनि कुनै ठूलो महत्वाकांक्षा जस्तो हुने थियो।
दिपेशले अघि किनेको भोड्का झोलाबाट निकाल्यो, अनि दुईवटा ग्लासमा खन्यायो। क्यानबेरी जुस त्यतै होटेलबाट मगायो।
'आइज चियर्स गरौँ पहिले।'
चियर्ससँगै दुई ग्लास ठोक्किएको आवाज आयो।
'कहाँ मजस्तो मान्छेले फिल्मको स्क्रिप्ट लेख्ने यार,' ग्लासको भोड्का आधा पार्दै किरण बोल्यो।
'अनि के स्क्रिप्ट लेख्न मंगल ग्रहबाट मान्छे बोलाउँछन जस्तो लाग्छ तँलाई?'
किरण हाँस्यो। पहिले विस्तारै, पछि मज्जाले।
'तैंले अरु कथा लेखे जस्तै त हो नि। बस् अलि डिटेलिङ हुनुपर्यो, संवादसहित।'
किरणले दिपेशको कुरामा सही थप्यो।
'तर लेख्दैमा होला त? कनेक्सन पनि हुनु पर्यो नि फिल्म लाइनका मान्छेसित।'
'त्यो 'लुट' बनाउने निर्देशकको नाम के रे?' दिपेशले सोध्यो।
'निश्चल बस्नेत।'
'हो, त्यसको स्टोरी थाहा छैन तँलाई?'
'अलिअलि थाहा छ। तर....'
'केही समय अस्ट्रेलिया बस्यो, फर्कियो। अनि ओस्कार कलेजमा भर्ना भयो। पढ्दा-पढ्दै स्क्रिप्ट लेख्यो। निर्मातालाई मन पर्यो। उसले फिल्म बनायो। रेस्ट इज हिस्ट्री- तँलाई थाहा नै छ नि,' दिपेशले भन्यो।
'तँ र मजस्तै आममान्छे त थियो नि त्यो पनि। बस् म कस्तो कथा भन्न चाहन्छु, कस्तो फिल्म बनाउन चाहन्छु भन्ने कुरामा ऊ स्पष्ट थियो,' उसले थप्यो।
'कुरा त ठीकै हो,' दिपेशको कुरामा पुरै आश्वस्त नभए पनि उसले होइन भन्नचाहिँ सकेन।
'बरु तँलाई आजकल बन्ने नेपाली फिल्म कस्ता लाग्छन्?' दिपेशले रित्तिएको ग्लासमा भोड्का थप्दै सोध्यो।
'दुई-चार वर्ष पहिले बरु राम्रा बन्थे। अहिले फेरि उही पहिलेको पारा छ। फिल्ममा कथावस्तु नै हुँदैन आजकल। '
'राम्रो फिल्म कस्तो हुनुपर्छ भन्ने आइडिया छ नि तँलाई?'
'त्यो भन्दा पनि यस्तो फिल्म बनेचाहिँ मलाई मन पर्थ्यो भन्ने हुन्छ,' किरणले भन्यो।
'हो, भै हाल्यो नि। तँलाई मन पर्ने टाइपको एउटा कथा लेख न त। स्क्रिप्ट लेखनको पहिलो पाइला त्यही हुनेछ,' यति भन्दै दिपेशले ग्लास किरणतिर बढायो अनि दुवैले फेरि चियर्स गरे। भोड्काले विस्तारै रमरम बनाउन थालिसकेको थियो दुवैलाई। तर जे कुरा भैराखेको थियो, त्यो पुरै होसहवासमा भैराखेको छ भन्नेमा दुवैको दुईमत थिएन। रक्सीले त केवल वातावरण बनाइदिएको थियो- एउटा स्वप्नील संसारको उडानमा ऊ आफ्नो उपस्थिति जनाउँदै थियो।
रातको १२ बजेतिर अर्को एक क्वार्टर पनि सकेर दुवै झ्याप हुँदै कोठातिर लागे। खाटमा पल्टिएको केहीबेरमै दिपेश घुर्न थालिसकेको थियो। किरणको दिमागमा भने दिपेशसँग अघि भएका कुराहरु खेली नै रहे।
रक्सीको अलिअलि मात भए पनि किरण अघिको कुरालाई लिएर मनमनै उत्साहित हुँदै थियो। साँच्चै स्क्रिप्ट लेख्न सकिन्छ कि जस्तो लाग्दै आइरहेको थियो उसलाई। एकछिन पल्टिँदा पनि निद्रा नपरेपछि एउटा चुरोट मुखमा च्यापेर ऊ बाहिर कौसीमा निस्कियो। कहिले नीला अनि कहिले काला देखिने परका डाँडातिर हेर्दै किरण निकैबेर त्यहीँ उभिरह्यो। उसको मन भने कल्पनाको सागरमा डुबुल्की मार्दै थियो।
...
'हिजोको कुरा बिर्सिस् कि अझै याद छ?' ठट्टा गर्दै दिपेशले बिहान चिया पिउँदै गर्दा सोध्यो।
'याद छ नि,' किरणले हाँस्दै भन्यो।
'पहिले एउटा ४-५ पेजको जेनेरल आउटलाइन जस्तो लेख्छु कथाको,' किरणले थप्यो।
'एकदम ठिक। त्यसपछि कुनै एउटा निर्देशकलाई अप्रोच गरम्ला। त्यसपछि त कुरो अघि बढी हाल्छ नि!'
'बरु चाँडो निस्किम अहिले, अफिस जान ढिला हुन्छ फेरि,' मुन्टो हल्लाउँदै किरणले भन्यो।
सत्तरी र असीको दशकमा बन्ने बलिउड फिल्महरुले निकै प्रभाव परेका थिए किरणलाई। राजेश खन्ना, अमिताभ बच्चनका मेनस्ट्रिम फिल्मले होइन, त्यो बेलाका प्यारलल सिनेमाले उसको मनमा गहिरो छाप छोडेका थिए। नसिरुद्दिन शाह र सञ्जिव कुमार उसका 'फेवरेट' मध्ये पर्थे। नसिरुद्दिन शाहको आत्मवृतान्त 'एन्ड देन वन डे: अ मेमोयर' बडो प्रेमका साथ पढेको उसलाई अझै पनि सम्झना थियो भने सञ्जिव कुमारको सन् १९७५ को फिल्म 'आँधी' उसले ३-४ चोटी हेरिसकेको थियो। जर्सिङपौवाबाट फर्किएको २-३ दिनसम्म उसको दिमागमा तिनै फिल्महरुको झझल्को आइरह्यो। चौथो दिन उसले नसिरुद्दिन शाहको सन् १९८३ को चलचित्र 'मासुम' एकचोटी फेरि आनन्दित भएर हेर्यो।
एक रात आधा होस आधा निद्रा भएको बेला एउटा स्टोरीको प्लट उसको दिमागमा आउँछ, धमिलो धमिलो। हत्तपत्त उठेर दिमागमा आएका कुराहरु उसले आफ्नो मोबाइलमा टाइप गर्दै सेभ गर्छ। उत्तिखेरै टिपेन भने ती विचार भोलि बिहान उठ्दा दिमागबाट हराइसकेका हुन्थे। यस्तो पहिला धेरैचोटि भएको थियो। तर यसपाली भोलिपल्ट बिहान उठ्दाखेरी पनि हिजो राति आएको स्टोरीको प्लट उसको दिमागमा ताजै थियो। मोबाइलमा खोजी राख्नु नपर्ने गरी।
त्यसको ठिक एक हप्तापछि उसले कथाको आउटलाइन तयार गर्यो। यसअघि आफूले लेखेका कथासित ऊ धेरै नै कम अवसरमा मात्र सन्तुष्ट हुने गर्थ्यो। तर योपाली भने किरण सन्तुष्ट मात्र होइन, उत्साहित नै भयो।
दिपेशलाई मेसेज पठायो, 'दिउँसो चिया खान आइज है। स्टोरीको प्लट तयार भो!'
'खोई सुना न त स्टोरी,' टेबुलमा हेल्मेट राख्दै दिपेशले भन्यो।
'स्टोरी नै त १२-१३ पेजको छ। तर म तँलाई एकदम छोटकरीमा सुनाउँछु है त।'
'ल सुना।'
'दुई जना छोरा अनि एउटा बाबुको कथा हुन्छ बेसिकली। आमाको केही वर्षअघि क्यान्सरले मृत्यु भएको हुन्छ। बाबु हस्पिटलमा हुन्छ, ६ महिनाअघि भएको स्ट्रोकले गर्दा। उसको दुई खुट्टा राम्रोसँग चल्दैन, ह्विलचेयरमा हुन्छ। दुई दाजुभाइबीच अलि मनमुटाव हुन्छ। कान्छो भाइ पढाई पुरा गर्न नपाएकोमा अलि दिक्क हुन्छ, किनकि पछिल्लो ३-४ वर्ष उसको धेरै समय हस्पिटलमै बितेको हुन्छ। जेठो दाइ बाबुसँग अलि बढी नजिक हुन्छ, जुन कुराको कान्छो भाइलाई अलि अलि इर्ष्या हुन्छ। '
'दाजुभाइ सल्लाह गरेर बाबुलाई एकदिन हस्पिटलबाट घर लिएर आउँछन्। बाबुलाई घरमा हेर्न झन् कष्टकर हुँदै जान्छ। र अचानक एक बिहान बाबु मृत अवस्थामा फेला पर्छ। सबैले उसले आत्महत्या नै गर्यो भन्ने ठान्छन्। जेठो दाजुले पनि त्यही ठान्छ। तर त्यो आत्महत्यामा कान्छो भाइले बाबुलाई सहयोग गरेको हुन्छ जुन कुरा अरु कसैलाई थाहा हुँदैन। थाहा हुन्छ त केवल मृत बाबुलाई।'
'अरे यार! खतरा 'फ्यामली ड्रामा' पो होला जस्तो छ त!'
'ह्या.. साँच्चिकै भन् न।'
'साँच्चै भनेको।'
'अब के गर्ने त?' कौतुहलित हुँदै किरणले सोध्यो।
'२-४ जना निर्देशकलाई स्टोरी पठाउने। हेरौं न के प्रतिक्रिया आउँदो रहेछ।'
'रेस्पोंन्ड गर्लान त?'
'किन नगर्नु? स्टोरी चित्त बुझ्नुपर्यो, गरि हालछन् नि!'
'क-कसलाई अप्रोच गर्ने त?'
'तेरो स्टोरी कसलाई मन पर्ला जस्तो लाग्छ तँलाई?'
'३-४ जना त छन् दिमागमा तर एकजनाले रेस्पोंन्ड गर्छ कि जस्तो लाग्छ मलाई।'
'को?'
'अर्पण थापा।'
'त्यसको एक्टिङ खतरा थियो यार त्यो के रे 'धन्दा' भन्ने फिल्ममा। '
'कलाकारितामा भर्साटाइल त छँदैछ, ऊ आफू राम्रो निर्देशक पनि हो अनि पटकथा पनि लेख्छ के,' किरणले उत्साहित हुँदै सुनायो।
'झन् गज्जब नि। त्यसैलाई पठा।'
'रेस्पोंन्ड गरेन भने....?' कपाल कन्याउँदै किरणले सोध्यो।
'पहिले पठाएर त हेर।'
'केमा पठाउने? फेसबुकको म्यासेन्जरमा?'
'अनि के त। कि घरमै गएर दिने विचार छ?' दिपेशले हाँस्दै सोध्यो।
'ह्या...गिदी नगर न।'
'तेरो फ्रेन्ड लिस्टमा त छ नि होइन?'
'फ्रेन्ड लिस्टमा त को छैन र मुला!'
हाहाहा....
साँझ अफिसबाट उसले अर्पण थापालाई फेसबुक म्यासेन्जरमा स्टोरीको फाइल पठायो, साथमा केही टेक्स्ट पनि लेख्यो। पठाएको समयदेखि नै उसको व्यग्रता क्रमश: बढ्दै गयो। दुई दिन बितिसक्दा पनि उताबाट केही प्रतिक्रिया नआएपछि उसले दिपेशलाई टेक्स्ट गर्यो।
'खोई यार, केई रेस्पोन्स आको छैन।'
'आज कति दिन भो र?'
'दुई दिन।'
'सेलिब्रिटी मान्छे हो, व्यस्त होला नि। तेरो जेठान हो र मुला दुई दिनमै ...! हाहा मजाक गरेको। आउँछ के नआत्ती न।'
'अब कुर्नै त पर्यो।'
अरु दुई दिन पनि प्रतीक्षामै बिते। किरण हरेक पाँच-पाँच मिनेटमा फेसबुक चेक गरिरहन्थ्यो अनि निरास हुन्थ्यो। पाँचौ दिन उसको म्यासेन्जरमा रिप्लाई आयो।
'स्टोरी मन पर्यो मलाई। अलि विस्तारमा लेख्न सक्नुहुन्छ, डाइलगसहित, पटकथा जस्तो? अरु त बसेर मिलाउन सकिन्छ।'
सुरुमा किरणलाई पत्याउनै गार्हो भयो। १०-१५ चोटि त्यही मेसेज पढेपछि भने उसलाई बल्ल वास्तविकता जस्तो लग्यो।
दिपेशलाई फोन लगायो।
'रिप्लाई आयो यार!'
'ल बधाई छ मुला। अलि दिन लाग्छ त मैले भनेकै थिएँ नि!'
'थ्यांक्स यार!'
'थ्यांक्स स्यांक्स छोड अब। बरु के भनेर रिप्लाई गर्यो?'
'स्टोरी मन पर्यो रे। अलि डिटेलमा लेख्न भनेको छ, पटकथा जस्तो के।'
'ल दामी भै हाल्यो नि।'
'त्यही त यार। आइ एम भेरी एक्साइटेड!'
'अफ कोर्स!'
'साँच्चै, तैंले त्यो सुबिन भट्टराईको 'समर लभ' पढेको छस्, होइन?'
'कहाँबाट 'समर लभ' को कुरा फेरि? ३-४ वर्ष अघि पढेको हो। '
'उपन्यास सुरु हुनभन्दा अगाडिको पेज हुन्छ नि जहाँ लेखकले आफ्नो पुस्तक 'डेडिकेट' गरेको हुन्छ कसैलाई। हो त्यस्तै 'समर लभ' को त्यो पृष्ठमा के लेखेको छ याद छ?'
'ह्या...अब अति नगर न। कहाँ याद हुनु? म कहाँ तँ जस्तो पढन्ते हो र!'
'सुन्न चाहन्छस् के लेखेको छ?'
'खुरुक्क भन् त!'
'प्रेम गर्ने सबैका लागि।'
'अनि तेरो अहिलेको अवस्थासँग त्यसको के लेना-देना त?'
'एकछिन धैर्य गर् न भन्छु। यदि कसैले हाम्रो यो स्क्रिप्ट लेखनको यात्राबारे स्टोरी या उपन्यास लेख्थ्यो भने त्यसको पहिलो पृष्ठमा के लेख्थ्यो होला?'
'मलाई के थाहा! भन् न छिटो।'
'सपना देख्ने सबैका लागि।'
'अरे वाह! बरु यो विकेन्डमा जाम हिँड फेरि जर्सिङपौवा, त्यही होटेलमा,' दिपेशले प्रस्ताव गर्यो।
'केको उपलक्ष्यमा?'
'साले, तेरो सपना पुरा हुन लागेको उपलक्ष्यमा नि!'
'सपना मेरो भए पनि हेर्न तैंले नै सिकाएको हो। तेरो प्रोत्साहन र तत्परताबिना यो सम्भव थिएन यार। त्यसैले यो हामी दुवैको सपना हो।'
'ल ल भयो अब। जे भए पनि शनिबार जर्सिङपौवा पक्का है त?'
'पक्का।'