अकस्मात् परेको पानीले दोस्रो दिनसम्म पनि जमिन भिजेको थियो। बिस्तारै कुहिरो छिचोल्दै घाम आँगनमा ओर्लियो। म घामको स्वागत गर्न आँगनछेउमा मुढा लिएर बसेँ। मेरो छेउमै हुनुहुन्छ बयासी वर्षका मेरा हजुरबा। उहाँ घामकै पर्खाइमा हुनुहुन्थ्यो।
यतिबेला मेरो ज्याकेटको बगलिभित्र घाम लुकेर बसेको छ। आहा! कति न्यानो घाम, मलाई घाम न्यानो लागिरहेछ । यति प्यारो त धेरै समयपछि भेटिएकी प्रेमिका मात्र हुन्छे। त्यसैले हिजोदेखि नभेटिएको घाम आज प्रेमिका जतिकै प्यारो छ। मानुँ कि मैले घामलाई प्रेमिका ठानिरहेँ। यसवेला हजुरबाले घामलाई के ठानिरहनुएको होला? सोधूँजस्तो लाग्यो तर सोध्न उचित थिएन। मनमा कुराहरू खेलिरहे। यसैबीच कवि हरिभक्त कटुवालको कविताको अशं याद आयो–
पर्ख एउटा अनागत दिनसम्म...हाम्रै खप्परबाट पनि उदाउने छ एउटा तेजिलो सूर्य कवि हरिभक्त कटुवालले घामकै पर्खाईमा कोरेको हुन् कि यो कविता ! जीवनमा घाम निकै प्रिय हुनेरहेछ। त्यसैले मैले घामको अनुहार हेर्न खोजेँ। यसवेला भने घाम हजुरबाको अनुहारमा टाँसिएको थियो। उहाँ हाँस्दै मसँग बोल्नुभयो। धेरै दिनपछि नाति मसँग छ भनेर उहाँ खुसी हुनुभयो होला। त्यसैले मुस्कुराउँदै सोध्नुभयो– बस्छस् होला नि दुईचार दिन?’
खै ! आजमात्र बस्छुहोला। आजमात्र भन्ने शब्दले उहाँलाई पिरोलेछ क्यार एकछिन मलिन हुनुभयो, त्यतिवेला घाम आँगनबाट अलि पर पुगेको थियो। मलाई अलिकति चिसो महशुस भयो।
अचानक हजुरबाको मुहारबाट घाम किन विलय भयो? सायद हजुरबाको निम्ति मेरो उपस्थति घाम जतिकै प्यारो हुनपर्छ। म सोच्दै थिएँ, हजुरबाले मसिनो स्वरमा भन्नुभयो, ‘अलिक दुई चार दिन बस्छन् होला भन्ठानेको, लु त काम पनि त विगार्नु भएन। राम्रै गर्नु।’ हजुरबाका शब्दले म नतमस्तक भएँ। उहाँलाई मेरो कति धेरै चिन्ता छ। म मनमनै पुलकित पनि भएँ। हजुरबा प्रेम देखाउनुहुन्न , दर्शाउनुहुन्छ। जुन प्रेम मेरो निम्ति निकै अमूल्य छ।
रात परेपछि सूर्य अस्तायो, अर्थात सूर्य अस्ताएपछि रात पर्न थाल्यो। साँझमा यसो हेरेँ, घामको डोबसमेत पनि छैन। सूर्य निभेपछि घामपनि हराउने रहेछ। घाम भएन भने जीवनमा न्यानो कसरी हुन्छ ? त्यसैले जीवनमा घामको ठूलो महत्त्व छ। आमाले साँझको वत्ती (दियोबत्ती) बाल्नुभयो। आजकाल गाउँमा लोडसेडिङ हुन थालेको छ। बलिरहेको दियोको उज्यालोमा आमा घरधन्दा र भान्साको काम गर्नुहुन्छ।
यतिवेला घाम कहाँ छ? मलाई खोज्न मन लाग्यो। मैले दियोको उज्यालोमा हेरेँ। अचानक चिसो हावाको झोँकाले बलिरहेको दियो निभिदियो। आमा भुन्भुनाउँदै सलाई खोज्न हिँड्नुभयो, तर म भने अँधेरोमा घाम खोज्न हिँडे।
मोबाइलको टर्चलाइट बालेर भर्याङ उक्लिएपछि माथि आएर खाटमा पल्टिएँ। फुर्सदमा पनि केही लेख्न सकिनँ भनेर छट्पटी भइरहेको वेला केही लेखूँ कि जस्तोपनि लाग्यो। तर यतिकै लेख्न कहाँ सजिलो छ र! लेख्न भनेर तयारी पोजिसनमा त बसेँ, तर शब्दहरू कला हुन्, कलालाई सजाउन त कला नै चाहिन्छ। सजिलो गरी लेख्न पनि त्यति सजिलो छैन।
मनमा कुरा मात्र खेले, विचारहरू खेलेनन्। लेख्न बस्दा पीडाहरूमात्र सम्झन्छु। अफिसको बासी ह्याङओभर दिमागबाट हट्न सकेको छैन। उता लेखिन भनेर साथीको दबाब छ। यो अँधेरोमा टर्चबत्तीले मात्र मेरो अनुहारमा उज्यालो भर्न सकेन जस्तो छ, लाग्यो कि अझै अँध्यारोमा रूमल्लिरहेको छु। भर्खरै विजुली फिर्ता भयो, कोठा झलमल्ल बल्यो। तर चिन्ताहरू लाम लागेर बसेका छन्– निधारमा।
अनुहार उज्यालो हुनै सकेन। म घाम खोज्न थालेँ तर कतै भेट्न सकिनँ। किनकि मेरो अनुहारबाट उज्यालो हराएको थियो। मलाई लाग्यो घामबिना अनुहार बल्नै सक्दैन।
लेख्छु भन्दै गर्दा भान्सा कोठाबाट आमाको आवाज आयो, ‘बाबु, आइज खाना खान, फेरी सेलाएर हिउँ हुन्छ।’ हो त , खाना हिउँ जस्तो हुन्छ। पुस–माघमा ठण्डी अत्यधिक हुन्छ। चिसोको आक्रमणबाट जोगिनपर्ने समय छ अहिले। उसो त हिजो घाम नलागेर नुहाउन पनि त सकिनँ।
खाना खाएपछि उसैगरी ओछ्यानमा पल्टिएँ। पल्टेर पुराना गीतहरू सुन्न थालेँ। पुराना गीत पुराना यादसँग जोडिएर आउँछन्। जब कि विछोड भैसकेकी पुरानो प्रेमिका आँखाभरी नाचेर आउँछे। म नमज्जाले छट्पटाउन थाल्छु। मोबाइलमा भने गीत बजिनैरहन्छ–
‘कहिले माया घामजस्तै, कहिले माया जुनजस्तै कहिले माया बरालिने बैरागीको मनजस्तै ’गीतमा त अथाह जादु छ, मायामा जस्तै। त्यस्तै जादु त घाममा पनि छ। अहो ! माया घामजस्तो मात्रै भइदिएको भए मेरो मन यतिविघ्न चिसो हुने थिएन। हो, घाम भनेको जीवन हो ,जीवनको सर्वाङ्ग खुसी नै पो हो क्यारे! त्यसैले मलाई घामबारे केही लेखूँलेखूँ लाग्यो।
जीवनमा खुसी हुनका लागि दुःखबाट विजयी हुनुपर्छ। विजयको उत्सव मनाउँदा अनुहारमा देखिने भाव नै खुसी हो। खुसीले मनमा आत्मसन्तुष्टी दिन्छ, त्यो सन्तुष्टी नै मेरो निम्ति उज्यालो घाम हो। कवि हरिभक्तले पनि त्यही खुसीलाई तेजिलो सूर्य भनेको हुनुपर्छ सायद।
जीवन बिम्बहरूको पाना हो। जताततै बिम्बहरू पोखिएका छन् जीवनमा! म लेखक हुँ कि भन्ने कुरा, लेखेर आत्मसन्तुष्टी मिलेपछि मात्र हुन्छ। आत्मसन्तुष्टी नमिलेसम्म म लेखक हुदिनँ। लेख्नेबेलामा जीवनको बिम्बहरू खोतल्छु। तर बिम्बहरूको सजावट गर्न ठूलै कसरत गर्नुपर्छ। जहाँसम्म कि बिम्बले मात्र अक्षरको न्याय गराउनु छ।
मलाई कहिलेकाहीँ चिन्ता लाग्छ कि यदि मैले अक्षरको न्याय गराउन सकिन भने समाजमा घाम कसरी लाग्छ ? घाम पर्खनको लागि याम पर्खनुपर्छ। पर्खंदापर्खंदै घामै नभेटि नै जीवनमा अन्तिम पूर्णविराम लाग्नसक्छ। घामको अनुहार कस्तो हुन्छ? अँधेरोमा जीवन बाँचेकाहरूकोे प्रश्न मेटाउनु पनि मेरो कर्तब्यभित्र पर्नुपर्छ।
सायद तपाइ घामलाई घाममात्र ठान्नुहोला। तर म भने घामलाई जीवनकोे बिम्ब ठान्दछु। ताकि मैले नै घामको बिम्ब चोरेर कविता पोतिदिन सकूँ, घामको उज्यालो चोरेर उदासी अनुहारहरू उज्यालो पार्न सकूँ। ताकि मेरो निम्ति घाम प्रजातन्त्र पनि हुनसक्छ। धेरै दिनपछि बादलको पर्दा च्यातेर झुल्कने घामको पहेँलो किरण मेरो निम्ति गणतन्त्र पनि हुनसक्छ। मेरो निम्ति घाम त उही आँगनछेउमा घमाइलो घाम तापेर बस्ने हजुरबाको उज्यालो चेहरा पनि हुनसक्छ। मेरो निम्ति घाम सपना हुनसक्छ, घाम बाटो हुनसक्छ, घाम प्रेम हुनसक्छ। मेरा निम्ति खुसीका प्रत्येक क्षणहरु नै घामका पर्याय हुनसक्छन्। जे होस् घाम यी र यस्तैयस्तै धेरै हुनसक्छ। त्यसैले त म घामलाई बडो प्रेम गर्छु।
रात गहिरो निद्रामा अल्झिसक्यो। भोलि पूर्वबाट उदाउने विहानी घामको प्रतिक्षा गर्दै अहिलेलाई भने म निदाउने तरखर गर्छु। ताकि अब मेरा सपनाहरू बिहानी–किरणसँगै फूलिदिन सुरू गर्नेछन्।