अनायास
साँझ आइपुग्छ
उसैगरी!
रेट्दै कलेजीका पत्र
साँझ– अल्झाउँछ पछ्यौरी
र निकाल्छ छाती भिज्ने गरी– विरही धून
टेक्दै उही प्राचीन सपनाको वैशाखी
साँझ झनझन् नजिक आउँछ
कि भाग्न खोज्दाखोज्दै पनि
अङ्गालोसम्मै आउँछ
उफ्!
साँझ आफ्नै काँधमा अँधेरो बोकेर
गरुङ्गो बन्दै आउँछ
साँझ आफ्नै हत्केलामा फूल उनेर
निराश बन्दै झर्छ
अनि उसैगरी प्रत्येक दिन
अँधेरो–उजेलोको दोभान बनेर
आँखै सामुन्ने एउटा साँझ
निष्पट्टताको गहिराइमा खसेर...मर्छ।