एउटा ढुङ्गा छ मेरो आँगनमा
मैले फूलहरूको बीचमा राखेको छु त्यसलाई,
अलिकति उठेको एक छेउ
मलाई उसको शिर जस्तै लाग्छ,
अलिकति उठेको उसको अर्को छेउ
मलाई खुट्टा जस्तै लाग्छ
म आँखा देख्छु साना खाल्टोहरूमा
आकृति बनाउँछु
म अनुभूत गर्छु उसको मुटु
प्रेम गर्छु
पूजा गर्छु म त्यो ढुङ्गाको ।
उसले देख्दैन मलाई
र चिन्दैन पनि,
उसले सुन्दैन मलाई
र मेरो कुरा बुझ्दैन पनि,
मेरो पूजा र प्रेमको
के अर्थ छ कुन्नि उसका लागी ?
तर
म उसलाई पूजा गर्छु ।
उसलाई घृणा गर्ने हरू पनि छन्
घृणा किन गर्छन् मलाई थाहा छैन
सायद उनीहरु उसलाई ढुङ्गा माँत्रै देख्छन्
अथवा ईर्श्या गर्छन् मेरो पूजाको,
दिनदिनै बाटोबाट
फुत्त छेउको ढुङ्गा टिप्छन्
र फाल्छन् मेरो आँगनको ढुङ्गामा
म फालेर फुटेका ढुङ्गाहरू जम्मा पारेर
मन्दिर बनाईरहेछु
मेरो ईश्वरको !
शीत झर्छ
घाम पर्छ
पानी खस्छ
अँध्यारो बस्छ मेरो ईश्वरमा,
उ जति राम्रो केही लाग्दैन मलाई
उ जति पूर्ण कोही लाग्दैन मलाई,
उसैमा ठोकिएर एक छेउबाट
छिर्छ घाम मेरो ढोका भित्र
घर र मेरो मनका
सबै अँध्यारा कुनाहरूसम्म,
अर्को छेउबाट
ठोकिएर बाटोका ढुङ्गाहरु सम्म पुग्छ
मेरो ढुङ्गाको उँज्यालो !
अप्रिल ११, २०१८
टिमिन्स, क्यानडा