‘साला सबले हेपे मलाई। निकम्मा भने। म उनीहरुलाई देखाईदिन्छु,’
ऊ आफ्नो वरीपरीका सबै सँग मुर्मुरिदै सुत्न गयो।
उसले सम्झिन थाल्यो उसका दैनिक घटनाहरू, ब्रेकअप, पढाईमा असफलता, घरमा होस या बाहिर सबको भनाई सुन्नुपर्ने आदि।
अनी जुरुक्क उठ्यो। कोठाको वरीपरी केही खोज्न थाल्यो।
‘डोरी’
खाट मुनी राखेको डोरी सम्झ्यो।
‘मरिदिन्छु टन्टै साफ। अरूलाई पनि आनन्द आफूलाई पनि,’
उ मनमनै आफैसँगै कराउँदै आफूलाई सिध्याउन ठिक पर्यो।
तयार थियो उसको दुःख मेट्न। घाँटीमा डोरी राख्दै गर्दा घरका सबैलाई सम्झिने कोशिश गर्यो।
‘ह्या सबै उस्तै हुन क्यारे किचकिच सधै’, ऊ झन हौसियो।
साथी सम्झ्यो। ‘झन के सम्झिनु खाली बिल्ला हान्ने त हुन्।’
उसमा आफूलाई सिध्याउने बहाना थपियो। अनी प्रेमिका, उसको त कुरै नगरौं मलाई निकम्मा भनेर छाडी। ऊ निसास्सिदै गयो। स्वास फेर्न गारो भो।
‘ज्या मर्न गारो पो रहेछ।’
ओहो त्यस्तो पिडा त सायद उसले कहिले भोगेको थिएन। छटपटिदै ऊ शान्त भो।
भोलि बिहान त सब उल्टो पो भइराखेको छ। न बाउले सराप्या छन न आमाले। न दाई रिसाका छन् न दिदी ठूस्केकी। उसको अगाडि सब अर्ध बेहोस छन् अनी सबका आँखामा आँशु। उसलाई दिक्क पार्ने साथीहरू आफू तिर दौडिदै आएको देख्छ।
‘सालाहरु आए फेरि बिल्ला गर्न। मर्दा नि सुख दिएनन्।’ ऊ मुर्मुरियो।
तर साथीहरु त ग्वा ग्वा रून पो थाले। उसले आफ्ना निस्ठुरी साथीहरू रोएको पहिलो पटक देख्यो।
आफ्नो लासको चारैतिर हेर्यो। आमा बुवा दाई दिदी सब आँशुमा डुबेर कुनामा मुढो जस्तो लडेका छन्। उसलाई टोकिराख्ने छिमेकीहरु सुक्सुकाउँदै छन्। साथीहरुको उस्तै बेहाल छ।
अझ परबाट त्यो भिडमा आँशु लुकाउँदै उसलाई हेर्न कोशिश गरेकी प्रेमिका देख्यो।
‘ला सबले माया पो गर्दा रैछन’, ऊ पछुतायो।
उठेर सबैसँग माफी माग्न खोज्यो तर कसैले सुनेनन्। सायद धेरै ढिलो भईसकेको थियो। ऊ रोयो करायो तर अहँ कसैले सुनेनन्।
यतिकै मा उसको अनुहारमा चिसो हात पर्यो। कसरी बिर्सिन्थ्यो त्यो स्पर्स जन्मेको दिनदेखि उसलाई सुम्सुम्याउने आमाका हात थिए।
‘आमा’, ऊ करायो, माफी माग्न।
‘के आमा आमा बिहानको ९ बज्न लाग्यो। तेरा साथीहरु आका छन बाहिर फुटबल लिएर। फेरि लखर लखर कुकुर जस्तो डुल्ने त होला। कति बेला सुत्या हो निद्रामै बोल्या छ,’ ऊ ब्युझियो।
‘हैट सपना!’
झ्यालबाट हेर्यो उही निकम्मा साथीहरुलाई। मुख धोएर ऊ निस्किनै लाग्दा आमाले भनेको सुन्यो। ‘ए कुलंगार चिया त खाएर जा।’
‘उतै खान्छु’ ऊ निस्किसकेको थियो। आज उसलाई कत्ती रिस उठेन ऊ मुस्कुराई रहेको थियो आमाको गाली सुनेर।
जाँदै गर्दा मसिनो स्वर सुन्यो। ‘खाना खान छिटो आउनू।’
‘हवस’ उ पर पुगिसकेको थियो। छिमेकीहरु सधै झै पुटपुटाउन थाले, ‘सधैको यस्तै कैले सुध्रिने हो कुन्नी।’