हो म दरबान हुँ,अर्थात पाले,
देशको ढुकुटीको रक्षा गर्न नसकेर म
बिदेशीको रक्षार्थ प्रवासिएको पाले हुँ
सोंच्दा हौ,
आफ्नो देशलाई बेवास्ता गरि
पराईको रक्षा गर्ने ,
आफ्नो सम्पतिलाई लात मारी
बिदेशको गुलाम गर्ने
तर .......भ्रममा नपर्नू तिमीहरु
म'जस्ता कर्तब्य परायणलाई
कहाँ बिश्वास गर्यो र देशले ?
म जस्ता निमुखाहरुलाई
कैले पो रोजगारी दियो र टाउकेहरुले?
ज्यू, हजुर र अर्थको शक्तिमा चलेको
मेरो देशको नियमले
म जस्ता बेरोजगारीहरुलाई
कहाँ प्रश्रय दिएको छ र ?
हो त्यसैले म पराईको पाले बन्न
बिदेशिएको छु,
देशको ढुकुटीको पाले बन्न
भाग्यमा नभएपछि
म बाध्य छु बिदेशी भूमीमै
खबरदारी गर्न।
मेरो देशको कानुनमा
जस्को हातमा चाबी जान्छ
उही त्यसको रखवाला बन्छ
जो सत्ताको भरौटे बन्छ
उ नै त्यस्को रक्षक बन्छ
अनि त किन चाहियो र?
देशको सम्पतिको अंग रक्षक?
आफ्नै देशको रक्षा गर्न ,
आफ्नै भूमीको पाले बन्न
को युवालाई रहर हुन्न र!
तर..... आवश्यक नै ठान्यो कस्ले ?
देशलाई आफ्नै जनशक्ती चाहिन्छ भनेर
जो आए राजनेताको फेटा गुथेर
उही चोर /चण्डालको पात्र बनेपछि
के'कालागी देशको सुरक्षा चाहियो ?
अनि कुन सम्पतिलाई पाले चाहियो ?
त्यसैले ........म' जस्ता युवा बिवश बन्यौं
देश छाडेर मुंग्लान् भासिन
आफ्नो देशको दुकुटी छाडी
पराई देशको सुरक्षा गर्न
अनि...... प्रवासको दरबान बन्न
अर्थात अर्को मुलुकको पाले बन्न।