जङ्गलबाट
एकहूल राता मान्छेहरू
मानव बस्ती छिरे थे,
हर्षबढाइँका साथ
फहराउदै ध्वजापताका,
गाउँदै,
‘..हो, बा त्यो आउँछ,
‘त्यो बिहान सूर्यझैँ उज्यालो छर्दै आउँछ...।’
‘वि स्याल ओभरकम, सम डे,
‘ओ, डीप इन माइ हर्ट, आइ डु बिलिभ...।
‘वि स्याल ओभर कम....।’
बाँडे थे सपना, गरे थे कबूल,
र,
पारे विश्वस्थ, साच्चै होकी जस्तो गरेर ।
आखिर, दिन्छु भनेपछि गरिबलाई,
अरु प्रमाण नै पो के चाहियो र ?
विभेदको खील पल्टिएको आँतलिएर,
सुमसुम्याउँदै,
छुवाछुतका आला घाउहरू,
देश गुमाएका अलपत्र मनहरू,
कुना–कन्दरा, भीर–पाखामा अल्झिएर
भाग्यले बाँचेका दीनदुःखीहरू,
नाङ्गो आङ र खङ्ग्रङ्ग सुकेको पेट लिएर,
निस्किए थे जस्केलामा,
गरे थे स्वागत,
हुँदै गदगद खुसीले,
र,
साँचे थे मीठामीठा सपनाहरू ।
सजाए थे मनमुटुमा उनीरूकै तस्वीर ।
पोते थे, घर आँगन,
र,
थाले थे गर्न, उनीहरूकै जयगान ।
देव–दैत्यहरूको तपोभूमि,
देव–अवतारको उर्वर धरतीमा
आशाको दियो सल्काएर
सिला खोजे थे,
टुटेफुटेका मुस्कानहरूको
र, पोते थे फुङ्ग उडेको अनुहारमा ।
अनि खोजे थे, बुद्ध, विद्यापति र फेदाङ्बाहरू,
नियाले थे त्यो हूलमा,
अरनिको, शंखधर र लेखनाथको अनुहार,
सोचे थे,
यीनै विभूतिहरू नयाँ अवतार लिएर,
बाँधेर अँगालो,
शान्ति र संमृद्धिको दियालो बोकेर आएछन ।
तर, अहँ,
यी त रङ्ग फेरेका राता छेपाराहरू पो रहेछन ।
यी त छेपाराहरूको राता अवतार पो रहेछन ।