आमा मलाई डर लाग्छ
यो 'डेथ भिलेज' को सानो झुपडीसँग
त्यो मेरो 'ड्रिम सिटी' मा ओहरदोहर
मेट्रो बस, लिफ्ट रूम र एटीएम रूमसँग
पात खसेको सुनिने एकान्तदेखि त झनै डर लाग्छ
बरू म सर्पसँग डराउँदिनँ
रेस्लिङ खेल्छुझैं लाग्छ बाघसँग
राप्ती नदीको उर्लंदो भेलको मुहार लोपारी दिन्छु पौडेर
तर तिम्ले घरमा एक्लै छोडी मेला जाँदा
पल्लाघरे हजुरबा आँखाले इशारा गर्छन्
पसले अङ्कल चाउचाउ र क्याटवरी दिंदै हात समाउँछन्
मलाई डर लाग्छ।
एकटक निलुँलाझैं हेरिरहने
दाजु साथीको राता आँखासँग आत्तिन्छु
ट्युसन टिचरले ल्यापटपझैँ काखमा राखेर
जबर्जस्ती गाला मुसारेको घीन लाग्छ
ठूलो पानी बर्षिंदा पनि सातो जान्छ मेरो
बादलको गर्जन सुन्दा काँप्छु म
मेरो साथीको काँपेको चीत्कार सुनेर
रातभर निदाउन सक्दिनँ
सर्पले भ्यागुतो निलेको देख्दा
शरीरभरि काँडा उम्रिन्छन् मेरा
मलाई एक्लै छाडी कतै नजाऊ आमा
मेरोलागि सबैभन्दा ठूलो सुरक्षा तिम्रै अँगालो हो
मलाई डर लाग्छ
आमा मलाई डर लाग्छ
तिमी मेरो आत्मशक्ति
म यो डरलाई लखेट्न चाहन्छु भित्रदेखि
मलाई आगो हुन सिकाऊ आमा
मेरो कोमलता कुल्चिनेलाई खरानी बनाउन सकूँ
मलाई हुरी बन्न सिकाऊ
मेरो अस्तित्व पुर्न खोज्नेलाई
नामोनिशान मेटिनेगरी उडाउन सकूँ
मलाई प्रलयको बाढी हुन सिकाऊ
मेरो निर्दोषिता डाइनोसोरलेझैं निल्न खोज्नेलाई
"हेल"मा बेपत्ता पारिदिऊँ