वर्षा याम, एक दिन, ठूलो पानी पर्यो!
काला काला, बादलुले सेता, गेडी झार्यो!!
झ्याम्म झुम्म, रुख थियो, घरदेखि पारि!
त्यही रूखमा, गुँड लगाई, बस्थे दुइटा चरी!!
चुट्नसम्म चुट्यो आज पार्यो चिलबिल
बतासले हाँगो, लाछी, गुँड पुग्यो तल !
शायद कक्षा आठको नेपाली पाठ्यक्रममा मैले यो कविता पढेको थिएँ। अहिले यो कविता पढाई हुन्छ/हुन्न, थाहा छैन।
लाजमर्दो कुरा त के भन्दा, मलाई यस कविताका रचयीता, ती महान कविको नामसमेत याद छैन। आफ्नो इतिहासलाई यती लापरबाही तरिकाले बिर्सनु दु:खद् हो।
यद्यपी ईतिहासमा रमाएर वर्तमानलाई कुरूप बनाउने सोचको म विरोधी हुँ। तर, यो कविता भने चट्टानमा कोरिएका तस्बिर झै मेरो मन र मस्तिस्कमा अमिट छ।
मैले कविता लेख्ने हिम्मत कहिलै गरिनँ, सकिनँ। यो मेरो क्षमताभन्दा बाहिरको कुरा हो।
कविता पढेको छु। बाचन पनि गरेको छु। कवितामा हराएको छु। कवितामय जीवन बाँचेको छु। ‘आइ ह्याब लिव्ड अ पोएटिक लाईफ।’
केही समय यता मलाई कविता निरस लाग्न थालेको थियो। जताततै लोभ, लालच, घृणा दृष्टिग्रोचर हुन्थ्यो। न्यूयोर्कको कन्क्रिट जंगलमा प्रकृतिरूपी कविता खोज्न सकिनँ।
मशिनझै चल्ने यो शहरमा कविता गुन गुनाउँदै कोही हिड्छ जस्तो मलाई लाग्दैन थियो। तर, साहित्यकार कृशु क्षेत्रीज्यूको ‘चराको गीत’ कविता संग्रह मेरो हातमा परेपछि आँखालाई सफा पानीले धोएझै लाग्यो।
जसरी पानी पर्न घनघोर बादलको आवश्यकता पर्छ त्यसरीनै कविता लेख्न वातावरण चाहिन्छ।
त्यसमा पनि चराको गीत गाउन विचार, ब्यवहार र समग्र मानव जातिलाई समभाव र प्रेमले हेर्ने मन चाहिन्छ।
सुपरिचित साहित्यकार कृशु क्षेत्रीज्यूसँग त्यो मन थियो त्यसैले ‘चराको गीत’ कविता संग्रहले जन्म लियो।
न्यूयोर्कको निरब रातमा उहाँको कविता संग्रह पढिरहँदा चराझै गगनमा उडेको महशूस गर्दैछु। मैले जिन्दगीभर चराझै उड्न चाहेको थिएँ, जो आज पुरा भएको अनुभूती गरेँ।
‘आमा’ भन्ने कविताबाट सुरू यस् संग्रहले सांकेतिक रूपमा नारीगाथा गाएको छ। नारी बिना सृजना सम्भव छैन। ‘नायग्रा फल्समा’ नामक कबितामा नारीको योनिक्ता कमजोरी नभइ, शक्ति हो। उत्सवको कारण हो, भन्ने सन्देश दिएको छ।
नायग्रा फल्सको उपमाको रूपमा यो भन्दा सुन्दर प्रयोग केही हुन सक्दैन। नारी मुक्तिका अभियन्ता र जेन्डर स्टडिजका विद्यार्थीले छुट्टाउनै नहुने कविता हो यो।
‘स्पीकर करनर’ मा दुई अश्वेत जोडीले रङभेद विरूद्ध गरेको नाराबाजीले स्वछन्द, उन्मुक्त हुँदाहुँदै पनि बिभेदले स्वछन्दता र उन्मुक्तिलाई अर्थहिन बनाएको प्रतित गराउँछ।
मलाई जातिय बिभेदका कारण, न्यायका लागि भड्कीरहेका हजारौं जोडीको स्मरण गरायो। जीवनमा जन्मनासाथ मान्छेले बिभिन्न्न पहिचान पाउँछ। तर, सबै पहिचान छेणभङुर हुन्छन्। ‘पहिचानको खोजी’ भन्ने कविता मार्फत सर्बोत्कृष्ट ‘सुप्रिम’ पहिचान त मानव हुनु मात्र हो, भन्न सफल हुनु भएको क्षेत्री।
‘बाद्शाहको रहर’ भन्ने कबिताले राजनीति जब कसैको रहर र महत्वाकांक्षा बन्छ, तब एक साधारण जनसेवक कार्यकता बाद्शाह बन्नसक्ने तितो तथ्यलाई बेजोडताका साथ चित्रित गरेको छ।
विश्वकै वर्तमान राजनीतिलाई कबिताले परिभाषित गरेको छ ।
‘धरो धर्म रक्सी लागेको छैन’ मार्फत, सत्य त रक्सी खाएकाले मात्र बोल्छन् भन्ने सुन्दर ब्यङ्ग्य पनि कविले पोखेका छन्।
अन्त्यमा ‘मेरो ईतिहास’ मा गएर कबिता संग्रहको अन्त्य भएको छ।
हो, हरेक पुस्ताले इतिहासमा गर्ब गर्नुपर्छ। तर, त्यसभन्दा माथि उठेर इतिहास रच्नुपर्छ।
बिगतको अलापमा नाच्नु हुन्न, यस कविताले मिठासपूर्ण माधुर्यका साथ यही बोलेको छ।
यो भन्दा सुन्दर गीत हामीलाई, हाम्रो समाजलाई, देशलाई एउटा कविले के नै दिन सक्छ र?
‘चराको गीत’ कविता संग्रहले हाम्रो समाज र सभ्यताको स्तर उठाउने छ। चराको गीतका केही हरफ पढे पछि शायद, यसमा कसैको बिमती नहोला।
चराले सधै उज्यालोको गीत गाउँछ,
निबिड - निस्पट रातका बिरूद्धमा शुभ प्रभातको गीत गाउँछ।
अध्यारोका बिरुद्ध जून पनि लड्छ
जुनकिरीहरु पनि लड्छन्।
चराको गीत प्रेम र सद्भभव को गीत हो चराको गीतले घृणा, जलन र तुशलाई तुच्छ बनाइदिनेछ।
यसमा कुनै सन्देह छैन। आदरणियय साहित्यकार क्षेत्रीज्यूको चराको गीत सबै मानवजातिको गीत बनोस् शुभकामना।