ए, जिन्दगी !
के गरिन तँलाई?
गुन्गुनाएकै हो तँलाई, गीत र सङ्गीत मानेर।
आजसम्म,
पालेकै छु, अमूल्य उपहार ठानेर।
हाँसी हाँसी कन,
पिएकै हो,
कालकुट बिषका प्यालाहरू,
अनिकाल र गरिबीको समुन्द्र मथेर।
आज देख्दैछु,
सुन्दर संसार, रचना गर्न,
हिडेका मान्छेहरू, अन्तिम युद्ध लड्न,
जोडेर, जङ्गबहादुरको टाउको
ओडेर, महेन्द्रको श्रीपेच,
गर्दैछन, हुकुम परमाङ्गी,
र, भन्दै छन,
बलात्कृत चेलीको रगतले
अमनचैनको गीत लेख ।
आर्तनाद र चीत्कारको झङ्कारमा,
समृद्धिको सङ्गीत भर ।
खै त,
चुः सम्म बोल्न सक्दैनन कोहीपनि,
अनि, पर्नु कसरी, यिनीहरूको भर ?
ए, जिन्दगी,
तेरै खातिर, छटपटिदैँ, कयौं इच्छाहरू मारैकैछु ।
अघाउजी खाएर,
गुन्द्रुक र ढिडोको सपना,
तेरै खातिर कयौं छाकहरू टारेकैछु ।
के गरिन ?
घाँस दाउरा गरिन कि ?
फुटाइँन कि गिट्टी, बोकिन कि भारी,
तरर्र तरर्र,
खन्याउदै पसिना बालुवामा,
खाडी मुलुकहरूपनि त चाहारेकै छु ।
हरेक रात,
सम्झिएर घरपरिवार,
झसङ्ङ–झसङ्ङ तर्सिँदै,
विदेशी ओछ््यानमा सुत्छु म ।
र,
हरेक बिहान,
आज छापिने,
बलात्कार र अपहरणको समाचारमा,
नपरोस भनेर,
छोराछारीको नाम,
झसङ्ङ झस्किदै उठ्छु म ।
ए जिन्दगी,
अब त अति भयो,
आफैसित,
तर्सिदै र झस्किदै रोज कसरी बाचौं म ?
डर र त्रासले गलगल काम्दै,
समृद्धिको गीत कसरी लेखौं म ।
डर र त्रासले गलगल काम्दै,
समृद्धिको गीत कसरी लेखौं म ।