यता चराको राज्य गतिलो देखिन्छ
उता माछाको संघीयता पनि अब्बल जँच्छ
बरू गाई, भैँसी, भेडा, बाख्रा र कुकुरहरूले
आफ्नो रित फेरेका छैनन्
नदीहरू त्यसैगरी बगेका छन्
जसरी हज्जारौं वर्ष पहिले बग्थे
पवन त्यसैगरी बहेको छ
जसरी लाखौं सम्वत्सर अघि बहन्थ्यो
घाम–जून
धर्ती–आकास
त्यही गतिमा चलायमान र स्थिर छन् ।
नजान्दा जान्दै मानव बद्लियो
जान्दा जान्दै मानव नै पो बद्लिएन
खुसीका खोजीमा
हरेक महादेशबाट
दिनरात
निस्किएका यी दर्जनौं दर्शनहरू
साँझ बास बस्न घर पसेनन्
बाहिर बसेका
र तर्कमा रुझेका विचारहरूले
मानिसहरूलाई
गरिबीको दर्कने झरीबाट बँच्न सिकाएनछन्
पसल खोलेर एकौटा
पण्डित, भान्ते, मौलवी र पादरीहरूले पनि
स्वखुसीका पसलहरूमा
स्वार्थन्धताका
धेरै मिसावट् दर्शन नै बेचेछन्
मपाइँत्वका मीमांशाहरूमा
पउल स्वपूजित महिमा मण्डन गराएछन् ।
जुनसुकै धर्ममा पनि
‘मन’ लाई ‘ईश’ मा समर्पण गर्ने तत्व ‘मानिस’ हो
आज मेरो धरतीमा
मानिस कम र ‘मान्’ ‘इस्’ बढी देखिरहेको छु
बुझेर पनि ‘बुझेँ’ भन्न नदिने
यो मेरो वर्तमान
थाहा पाएर पनि ‘थाहा पाएँ’ भन्न नमिल्ने
यो मेरो समकालीन समय ।
बरू चराको राज्य आफैँमा गतिलो भेटिन्छ
बरू माछाको संघीयता सँधै अब्बल लाग्छ
उनीहरूमा निमेकका खातिर
नियम चलिरहेछ
उनीहरूमा नियमका लागि
निमेक अघि बढिरहेछ
जलचर, उभयचर र खेचर
चराचर जगत्मा उत्फुल्ल नाँचिरहेछन्
सृष्टि आफ्नै तालसूर र नादमा
फन्फनी घुमिरहेछ
ती सुखी छन्
ती खुसी छन् ।
एउटा कुरा साँचो भनूँ है !
परतन्त्रताको सिकन्जा तोड्ने सङ्कल्पमा
स्वतन्त्रताको कल्पना
जति मिठो थियो नि विगतमा
भोगाइमा त्यो हर्रो जस्तो टर्रो र
चिराइतो जस्तो तीतो हुँदो रै’छ ।
ज्ञान, बुद्धि र विवेक जति भरियो मानिसमा
मानिस उति बढी राक्षस हुँदो रै’छ ।